विमलसँग सेल्फी खिचेका युवालाई अफसोच

१६ जेठ, काठमाडौं । कतारमा बस्ने एक नेपाली फुटबल प्रेमीले विमल घर्तिमगरसँग खिचेको ताजा सेल्फी फेसबुकमा पोस्ट गरे । बहिनीको मृत्युपछि नेपाल फर्किने क्रममा रहेका विमलसँग उनको कतारमा भेट भएको थियो ।

शोकमा रहेको व्यक्तिसँग सेल्फी खिच्नु र त्यसलाई फेसबुकमा पोस्ट गर्नु आफैंमा शोभनीय काम थिएन । तीव्र रियाक्सनहरु आएपछि उनले गल्ति महसुस गर्दै फोटोलाई फेसबुकबाट हटाएका छन् । विमलसँग उनले कतारमा बिताएका ८ घन्टाका क्रममा यो सेल्फी खिचिएको थियो । सो अविस्मरणीय ८ घन्टाको वर्णन गर्नुअघि यी युवाको पृष्ठभूमिबारे जानकारी दिनु आवश्यक छ ।

Selfie-with-Bimal

यी हुन् एलिस खड्का

नेपाली फुटबलसँग विगत ११ वर्षदेखि एकदमै नजिक छन् एलिस खड्का । त्यसो त फुटबल उनको प्रत्यक्ष साइनो केही पनि छैन, एउटा दर्शकको बाहेक । तर नेपालका सबै राष्ट्रिय फुटबल खेलाडीसँग उनको व्यक्तिगत चिनजान छ । उनी नेपालको थि्रस्टार क्लवका फ्यान हुन् । नेपालमा विमल घर्तिमगर र भरत खवास उनका सर्वाधिक पि्रय खेलाडी हुन् ।

एलिस सन् २००५ देखि नेपाली फुटबललाई पछ्याउन थालेको बताउँछन् । उनको परिवार रामेछापबाट भक्तपुरमा बसाइँ नसर्दासम्म एलिस फुटबलमा खासै चासो राख्दैनथे । भक्तपुरमा उनको घर नजिकै थियो फुटबलर सन्तोष साहुखलको घर । सन्तोषसँग संगत भएसँगै उनी रंगशालामा फुटबल हेर्न जान थाले । उनले सन् २००५ मा भएको एएफसी प्रेसिडेन्ट कप अन्तरगत थि्रस्टारले खेलेको खेल पहिलोपटक रंगशाला गएर हेरेका थिए । त्यसपछि उनको फुटबलमा रस बस्यो र थि्रस्टारका फ्यान बने ।

रंगशालामा हुने क्लव फुटबल होस वा अन्तर्राष्ट्रिय फुटबल नछुटाइ हेर्ने फुटबलका ‘एडिक्ट’ भए । ए डिभिजनका म्याच हेर्न पनि स्कुलबाट भागेर रंगशाला पुग्थे उनी । विशेषगरी थि्रस्टार र मध्यपुर ठिमीले खेल्ने कुनै पनि म्याच उनले छुटाएनन् होला । फुटबलको सोख बढ्दै जाँदा उनको पढाई बिग्रदै गयो । ११ र १२ दुवैमा फेल भए । त्यसपछि विदेशीने सोच बनाए ।

घरमा एउटा बस थियो । उनले हाँक्न सिकेका थिए । सन् २०१२ मा एलिस कतार पुगे । त्यहाँ १२ सय नेपालीहरुले काम गर्ने एउटा कम्पनीमा ट्याक्सी चलाउन थाले । अहिलेसम्म त्यही ट्याक्सी चलाइरहेका छन् । महिनामा एक लाखभन्दा बढी वचत हुने उनी बताउछन् ।

कतारमा पनि एलिसले नेपाली फुटबललाई पछ्याउन छोडेनन् । विभिन्न सञ्चारमाध्यमबाट उनी नेपाली फुटबल र फुटबलरहरुबारे अपडेट भइरहन्थे ।

खेलाडीहरुसँग चिनजान

नेपालमा हुँदा सन्तोषले उनलाई केही खेलाडीहरुसँग चिनाइदिएका थिए । तर, त्यो चिनजान दिगो थिएन । कतार गएपछि उनी आफूले चिनेजतिका नेपाली फुटबलरलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र च्याटमा कुरा गर्ने गर्न थाले । विस्तारै धेरै फुटबलरहरुसँग उनको मित्रता भयो ।

नेपालका ए डिभिजन खेल्ने फुटबलरमध्ये अन्जन विष्टबाहेक सबैसँग आफ्नो सम्वन्ध रहेको दावी गर्छन् एलिस । अन्जनसँग चाहिँ किन भएन भन्ने प्रश्नमा उनको जवाफ छ, ‘मैले धेरैपटक उहाँलाई म्यासेज पठाएँ । तर कुनैको पनि रिप्लाइ आएन । त्यसपछि मैले पनि म्यासेज गरिनँ ।’

सन् २०१३ मा नेपाली टिम यमनसँग मैत्रीपूर्ण म्याच खेल्न कतार पुग्यो । एलिसलाई के चाहियो ? उनी कम्पनीमा छुट्टी लिएरै म्याच हेर्न पुगे । सबै जनासँग हात मिलाएर परिचय गरे, फेसबुकमा च्याट गर्ने केटो मै हुँ भन्दै । विदेशी भूमिमा पसीना बगाउँदा पनि नेपाली फुटबलप्रतिको लगाव देखेर सबै फुटबलरहरु प्रभावित बने । उनी गएयता नेपाली टिम तीनचोटी कतारमा पुगिसकेको छ, विभिन्न म्याचको सिलसिलामा । यस क्रममा एलिस सबै फुटबलरको प्यारा भएका छन् । उनी जोसँग भेट्दा पनि एउटा फोटो वा सेल्फी खिच्न भने छुटाउँदैनन् ।

उनले आगामी अगष्टमा सँधैका लागि नेपाल फर्किन लागेको सुनाए । नेपाल फर्केर के गर्ने भन्ने योजना चाहिँ उनीसँग छैन । कतारमा आउँदा ५० केजी थिए, अहिले मोटाएर ९० केजी पुगिसकेका छन् । यसबीचमा अलिकति पैसा पनि कमाएका छन् ।

विमलसँग ८ घन्टा

कतारबाट उपचारका लागि बेल्जियम जाँदैछन् भन्ने एलिसलाई थाहा नहुने कुरा भएन । बिमलको ५ घन्टाको ट्रान्जिट थियो । तर, बिमल एयरपोर्टबाहिर निस्कन नपाउने र एलिस एयरपोर्टभित्र पस्न नपाउनाले उनीहरुको भेट हुन सकेन । विमलले उनलाई भाइबरमा फोन गरे । एलिसले बेल्जियमबाट फर्किँदाखेरी कतारको भिसा लगाउने र एक हप्ताघुमेर नेपाल फर्किने प्रस्ताव राखे । विमलले स्वीकार गरे ।

कतारमा एक फुटबलप्रेमी छन्, श्याम भुषाल, जसलाई विमल अंकल भन्छन् । उनको कतारमा आफ्नै आल्मुनियमको कम्पनी छ । प्राय विदेशी फुटबल पछ्याउने उनी नेपाली फुटबलर एक जनालाई मात्रै चिन्छन्, विमल घर्तिमगर । विमललाई औधि मन पराउने र माया गर्ने अंकलसँग एलिसले कुरा गरेँ । अंकलले कतारको भिसा लगाएर विमललाई घुमाउन सहमति जनाए ।

विमल ३० तारिखमा कतार आउने र एक हप्ता बस्ने गरी अंकलले भिसा र टिकटको मेलोमेसो मिलाए । बिमलकी बहिनीको मृत्यू हुनभन्दा अघिल्लो दिन मात्रै कतारको भिसा र टिकट निश्चित भएको थियो । एलिस भन्छन्, ‘एक दिन अगाडि मैले एक हप्ता कतार घुम्ने गरी टिकट सारिएको सुनाएपछि बिमल भाई एकदम खुशी भएका थिए ।’

त्यसको भोलिपल्ट कतारको समय अनुसार बिहान साढे नौ बजेतिर एलिस ओछ्यानबाट उठे । यसो फेसबुक चहार्दा उनले दुखद खबर पढे ।

सुरुमा त फेक न्यूज होला भनेर वास्ता गरिनँ,’ उनले भने, ‘पछि सबै समाचार पोर्टलहरुमा आउन थालेपछि विश्वास गर्न कर लाग्यो ।’

त्यसपछि विमलले आफूलाई फोन गरेर टिकट अगाडि सार्न आग्रह गरेको एलिसले बताए । उनले अंकललाई भने । अंकलले अलिकति पैसा खर्च गरेर ३० तारिखको टिकट ५ दिन अगाडि सारे । कतार ल्याण्ड भएको ११ घन्टापछि उनी नेपालका लागि उड्ने व्यवस्था मिलाइयो ।

राति सवा सात बजे एलिस आफ्नो ट्याक्सीमा र अंकल आफ्नो कार लिएर एयरपोर्ट पुगे । अंकलले बिमललाई आफ्नो कारमा राखे । कार अघिअघि र ट्याक्सी पछिपछि अंकलको घरतिर लागे । बाटोमा पर्ने नेपाली भान्सामा गाडी रोके । खाना अर्डर गरे । तर, विमलले दुई गाँस भन्दा खान सकेनन् ।

‘विमल भाइको अवस्था नाजुक थियो, उसले खाना खानै सकेन,’ एलिस भन्छन्, ‘उसले अवस्था देखेर मलाई पनि रुचेन ।’

नेपाली भान्साबाट निस्केपछि बिमललाई एलिसले आफ्नो ट्याक्सीको अगाडी सिटमा बस्न अनुरोध गरे ।

करिब आधा घण्टाको यात्रा बिमलले रोएरै बिताएको बताउँछन् एलिस । उनी भन्छन्, ‘गाडीमा बस्दा विमल भाइ एकोहोरो रोइरहे । गाडीको अगाडि राखिएको टिस्यू पेपरले मैले उसको आँशु पुछिदिएँ । तर उ रोएको देख्दा मैले आफूलाई पनि सम्हाल्न सकिनँ । मेरो पनि आँखाबाट बर्बरी आँशुका धारा बगे ।’

‘अंकलको घरमा पुगेपछि बिमललाई मैले नुहाएर फ्रेस होउ भनेँ । त्यसपछि हामी केही घन्टासम्म गफियौैं । गफ गर्ने क्रममा पनि बहिनीको प्रसंग आउँदा उ भक्कानो फुटाएर रुन्थ्यो । म विषयलाई मोडेर फुटबलको कुरा निकाल्थेँ ।’

बिमलले तपाईंसँग बहिनीका मृत्यूबारे के-के कुरा गरे ? फेसबुक म्यासेन्जरमा भेट भएका एलिसलाई पंक्तिकारले सोध्यो ।

एलिसले भने, ‘उसले आफ्नो बुवालाई धेरै सम्झियो । भन्दै थियो, म सानो छँदा बुवाले छाडेर जानुभयो । अहिले बहिनीले छाडेर गई । आमा र बहिनी दिदीबहिनी जस्ता थिए । अब म आमालाई के गरी सम्झाउँ ? के गरी आफ्नो मन बुझाउँ ?’

‘घटनाकै दिन पनि बहिनीसँग उसको कुरा भएको रहेछ च्याटमा । बहिनी घरमा एक्लै रहिछन् । उनले दाई आज आमा हुनुहुन्न, घरमा एक्लै छु, डर लागिरहेको छ भनेकी रहिछन् । त्यसो भन्दा विमलले अंकलको घरमा गएर सुत्नु भनेको रहेछ ।’

‘बहिनीको प्रेम सम्वन्धका विषयमा उसलाई थाहा रहेछ । एक दिन उसले केटालाई घरमै बोलाएर कुरा गरेछ । तिमी मेरो बहिनीसँग बिहे गर्ने हो त भनेर सोध्दा केटाले बिहे त गर्दिँन, लभ मात्रै हो भनेछ । त्यसपछि विमलले सम्झाएर पठाएको रहेछ । बहिनीलाई पनि सम्झाएको रहेछ । उनीहरुको सम्वन्धको रिजल्ट राम्रो हुँदैन भन्ने भन्ने उसलाई परिरहेको रहेछ ।’

‘बिमल भाइलाई सबैभन्दा ठूलो चिन्ता आमाकै छ । आमालाई पहिलेदेखि नै काठमाडौं आएर बसौं भन्दा आमाले मान्नुभएन भन्थ्यो । आमाले गाउँमा खेतिपाती छ, काठमाडौंमा के गरेर बस्नु भन्नुहुँदो रहेछ। विमलले मसँग आमाहरु काठमाडौंमा बसेको भए यस्तो हुन्नथ्यो होला भन्योे । मैले भनेँ, हुनुपर्ने कुरा केही गरे पनि टर्दैन । उसको आमालाई ब्लड पे्रसरको समस्या पनि रहेछ ।

‘बिमल भाइको बहिनीलाई नर्स बनाउने इच्छा रहेछ । तर, पैसाकै अभावले गर्दा पढाउन नसकेको कुरा गर्‍यो । बहिनीको हत्या नै भएको हो भन्ने उसलाई लागेको छ । आत्महत्या त मेरो बहिनीले गर्नै सक्दिँन भन्थ्यो ।’

त्यो सेल्फी

‘कोठामा केही घन्टा बिताएर फेरि मैले आफ्नो गाडीमा हालेर उसलाई एयरपोर्ट पुर्‍याएँ । अंकल पनि सँगै जानुभयो । एयरपोर्ट पुगेपछि उसले भन्यो, ‘मेरो कारणले तपाईंहरुलाई दुख भयो है ।’ मैले भनेँ, ‘केको दुख ? तिमी जस्तो देशका लागि खेल्ने खेलाडीलाई यस्तो दुखमा परेको बेलामा सहयोग नगरे कहिले गर्ने ?’

उसले तपाईं कहिले नेपाल फर्किसिन्छ, नेपाल फर्केर के गरिसिन्छ भनेर सोध्यो । मैले अगष्टमा फर्किन्छु र तिमीसँग भेट्छु भनेँ ।

एयरपोर्टमा हामीले ग्रुप फोटो खिच्यौं । मैले भाईसँग सेल्फी खिच्न आग्रह गरेँ । उसले रुन्चे अनुहार लगाएर बसेको थियो । मैले भनेँ, ‘भाई जे हुनु भइहाल्यो, अलिकति स्माइल देउ । म हाँसेको, तिमी नहाँसेको फोटो राम्रो आउँदैन । तर उ हाँस्न सकेन ।’

त्यो फोटो मैले फेसबुकमा अपलोड गरेँ । जो पनि फुटबल खेलाडी भेट्दाखेरी म सेल्फी खिचेर फेसबुकमा हाल्ने गर्छु । यसपटक पनि त्यही गरेछु । तर गल्ति भएछ । जब मेरो फोटो इन्टरनेटमा भाइरल भयो र धेरै किसिमका कमेन्टहरु आए, अनि मैले महसुस गरेँ कि मैले गरेको काम ठिक भएनछ । विमल दुःखमा रहेको बेला मैले फोटो खिचेर फेसबुकमा हाल्नु नहुने रहेछ । मैले गल्ति महसुस गरेको छु । सबैसँग क्षमायाचना गर्छु ।

मलाई लाग्छ, विमलले माइन्ड गरेको छैन । मैले गलत आशयले फोटो खिचेको हो भन्ने उसलाई पक्कै लाग्दैन । मैले आफ्नो काम छोडेर १०-११ घण्टा विमललाई दिएँ । उ पीडामा भएको बेला अलिकति मन बहलाउन खोजेको मात्रै हुँ । आफ्नो प्रिय खेलाडीलाई चोट पुग्ने काम जानाजान म किन गर्छु ?

नेपाल ल्यान्ड भएपछि मैले विमललाई कल गरेँ । उसले दाई म हस्पिटल जाँदैछु भन्यो । मैले उसलाई ‘अब बहिनीको काजक्रिया राम्रोसँग गर, अनि मम्मीसँग केही समय बस’ भनेर सल्लाह दिएको छु ।

मेरा फोटो भाइरल भएपछि मलाई नेपालबाट धेरै जनाले म्यासेज पठाउनुभो । त्यो फोटो हटाउ भन्नुभयो । त्यसपछि मैले पनि फोटो ‘वन्ली मी’ बनाएँ ।

बिमलको स्वभाव कस्तो लाग्छ भन्ने प्रश्नमा एलिसले भने, ‘एकदमै विनम्र छ । जहिले पनि स्यो लगाएर बोल्छ । हजुर आइस्यो, गइस्यो, खाना खाइस्यो भन्छ । आइस्यो गइस्यो भनेको त धेरै राम्रो शब्द हो नि । उसले सिनियरलाई एकदमै रेस्पेक्ट गर्छ ।’

साढे तीन करोड कार्यलयमै थन्कियो, हाकिम भन्छन्, ‘काम गर्न सकिएन ।’

पासाङल्हामु राजमार्गस्थित रसुवाखण्डको मर्मत तथा सुधारका लागि आएको बजेट यो वर्ष पनि कार्यालयमा नै थन्किएको छ । जिल्लाको वेत्रावतीदेखि रसुवागढीसम्म जिर्ण बनेको सडक सुधार (रिसिलिङ) ...