असारे भाका हाल्दै रोपियो धान

देवचन्द्र भट्ट
उमेरले ७५ वर्ष कट्नै लाग्दा नुवाकोटको उत्तरी भेगमा रहेको तुप्चेका मोदनाथ पौडेलको जोश र जांगर वैंशका समयका जत्तिकै रहेको छ । आफ्नो जीवन नै खेतिकिसानी गरेर गुजारा चलाउनुभएका वृद्ध पौडेलले विहीवार गाउंमा असारे भाकामा लय निकल्दै गीत गाउन थालेपछि जांगरसाथ स्थानीयले साथ दिएर छुपु छुपु धान रोप्न थाले ।

ढल्कदो उमेरमासमेत छोरानाती उमेरका सवैलाई हौसला जगाउंदै उर्जाशील रहन आग्रह गर्दै वृद्ध पौडेलले असारे गीत गाउदा सवैले साथ, ताली दिएर उहांको प्रशंसा मात्र्र गरेनन् । लोप हुंदै गएको असारे भाकाको जगेर्नाको चिन्तासमेत गरे ।

अरुलाई वर्षा लागेसँगै यतिबेला नुवाकोटका किसानलाई भ्याइनभ्याई छ । ताछेर चिल्लो पारिएको आली र पानी भरेर सम्मो बनाइएको खेतले मंसिरमा झुल्ने धानको लहलह बाला सम्झाइरहेको छ । बिहानै खेतका हिलाम्मे गह्रामा पस्ने हली, बाउसे र रोपाहारहरु दिनभर धान रोपाइँले बेफुर्सदी बन्छन् ।

यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्ने तुप्चेकी वृद्ध मोदनाथ पौडेलको धारणा छ । असारको १५ अर्थात् व्यस्त यो दिनमा नुवाकोटमा महोत्सवकै आयोजना गरि किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्ने काम गरेका छन् ।

नुवाकोटको तुप्चे, कविलास, ढिकुरे, पन्चकन्यालगायतका स्थानमा धान दिवस मनाइएका छन् । एकआपसमा हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको रौनक महत्वपुर्ण हुन्छ ।

रोपाइँको बहाना र यही जिस्काजिस्कीमा छरछिमेकका ठिटाठिटीबीचको पिरती धानको बीउ जस्तै हरियो भएर मौलाउने मौका पाउने अर्का वृद्द टीकाराम अधिकारीले वताउनुभयो । गाउँघरतिर धान रोप्ने मेलामा पर्म गराउने र तिर्ने व्यवहारले सामाजिक सम्बन्ध पनि यही बेला गाढा बन्ने स्थानीय जनप्रतिनिधि सन्तोष रिजालको भनाई छ ।

roopai

असारको झमझम झरीको बीचमा हिलोबाट केहीबेर छलिँदै आलीमा टुसुक्क बसेर खाइने दहीच्यूराको स्वाद यो दिनमा अझ विशेष हुन्छ । मानो खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका नुवाकोट रसुवालगायत देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

कृषि विकास कार्यालय नुवाकोटको आयोजनामा विहीवार विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा सञ्चालित धान दिवसको सांसद राममाया वोगटीले उद्घाटन गर्नुभयो । उहांले पछिल्लो समय कृषिकर्म हराउदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पछिल्लो समय किसानहरुले धान फल्ने खेत मासेर घरघडेरी वनाउने क्रम वढेको उल्लेख गर्दै कृषिमा आधुनिकीकरण गर्दै कृषिलाई संरक्षण गर्नुपर्ने वताउनुभयो । स्थानीय साविम सहकारी, हाम्रो सहकारी, मिलन महिला कृषि सहकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रममा कृषकवीच असारेगीत प्रतियोगितासमेत गरिएको थियो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख कमलराज गैरेले नेपाल कृषि प्रधान देश रहेका कारण बेरोजगारी समस्या समाधान तथा कृषिलाई आत्मनिर्भर बनाउन राष्ट्रियस्तरबाट छुट्टै योजना तयार गर्न आवश्यक रहेको बताउनुभयो । उहाले प्रमुख पेशामा आत्मनिर्भरताको साटो युवा शक्तिलाई पलायन हुने परम्पराबाट रोक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एसिया महादेश धानको लागि अग्रणी रहेको बताउनुभयो । उहाले संसारको ९० प्रतिशत धान एसियामा उत्पादन हुने र संसारको प्रमुख खाद्यान्न नै धान भएको र यसको उत्पादनमा सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।

धान दिवशमा सहभागी किसान, सरकारी अधिकारीलगायत रोपाहार, बाउसे, हली सबैले हिलो खेल्दै एकैस्थानमा बसेर असारे भाकाको गीत गाउँदै दही चिउरा खाएका थिए । किसानहरुले मानो रोपेर मुरी फलाउने दिनका रुपमा पनि असार १५ लाई चिनिने गरेको छ ।

रसुवा जिल्ला अस्पताल २७ महिनादेखि पालमुनि संचालनमा,विरामीहरु सास्ती खेप्न बाध्य

रसुवा भदौ १२, महाभूकम्पले भत्काएको जिल्ला अस्पताल पुनःनिर्माण हुन नसक्दा २७ महिनादेखि टेन्टमै सञ्चालन भइरहेको छ । सदरमुकाम धुन्चेस्थित जिल्लाको एक मात्र अस्पताल समयमै पुनर्निर्माण ...