फिल्म समीक्षा- मेकिङमा गरिब ‘धनपति’

फिल्म– धनपति

निर्देशक- दीपेन्द्र के खनाल

स्टार कास्ट- खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, रवी गिरी आदि ।

अघिल्लो वर्ष ‘उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशक’ को अधिकांश फिल्मी अवार्ड कब्जा गरेको थियो, पशुपतिप्रसादले । यो फिल्म दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको पसिना, लगाव र सिर्जनशीलताको पुञ्ज थियो ।

उनै दीपेन्द्र र खगेन्द्रको अर्को फिल्म ‘धनपति’ शुक्रबारदेखि सार्वजनिक भएको छ । नाम धनपति भए पनि गरिब एवं निमुखा पात्रबाट फिल्मको उठान हुन्छ ।

कस्तो छ कथा ?

फिल्मको कथामा धेरै घोत्लिनुपर्दैन, विकृत राजनीतिक पृष्ठभूमिमा एउटा सामान्य नागरिकले भोग्ने दिनचर्या हो यो ।

सानुकाजी अर्थात् धनपति यसका केन्द्रीय पात्र हुन्, जो काठमाडौंमा मासिक ४५ सयको डेरामा खुम्चिएका छन् । उसको सपनाले पनि उति ठूलो पखेटा फिजाएको छैन, बस् छोरीलाई सरकारी स्कूलबाट अंग्रेजी स्कूलमा स्थानान्तरण गर्न पाए पुग्छ ।

त्यही छोरीलाई केन्द्रमा राखेर धनपतिले गर्ने संघर्षको कथा हो, धनपति ।

ऊ एक रेष्टुरेन्टमा मासिक कमाइ १५ हजार रुपैयाँमा काम गर्छ । यति पैसाले घरखर्च धान्न पुग्दैन । त्यसमाथि छोरीलाई राम्रो स्कूल पढाउने आकांक्षाले धनपति दम्पतीलाई बेचैन बनाएको छ । त्यसबाहेक उसको परिवारमा सबै कुरा ठीकठाक चलिरहेको छ ।

यसमा द्वन्द्व पैदा गर्ने अर्को पाटो छ, राजनीति । एक पार्टीका प्रमुख र उनका कार्यकर्ता धनपतिलाई आफ्नो चक्रव्यूहमा पार्ने दाउपेचमा छन् । तर, धनपतिलाई राजनीतिप्रति चरम वितृष्णा छ । किनभने त्यही राजनीतिक प्रतिशोधले उसको घर-परिवार उजाडिएको विगत उनको मनबाट अझै पखालिएको छैन ।

धनपति स्वभिमानी छ । निडर छ । पसिनामा विश्वास गर्छ ।

तर, आफ्नो स्वभिमानको गाँस खाएर उसको सपना पूरा हुने छाँट छैन । दिनदिनैका बन्द, हडताल, महँगी, अभाव, हेपाइ र अपमानले ऊ क्रमशः गल्दै गएको छ ।

ठीक यही मौका छोपेर उसलाई पैसाको प्रलोभनमा पारिन्छ र, राजनीतिक गोटी बनाइन्छ । अन्ततः ऊ पार्टीको कार्यकर्ता बन्छ भाषणवाजीमा उत्रिन थाल्छ । उसको राजनीतिक ‘सक्रियता’ यतिमै सीमित रहँदैन, ऊ परम्परागत राजनीतिक पात्र झैं बन्द, हडताल, तोडफोड र विध्वंसमै उत्रिन्छ ।

उनको अभीष्ट छैन, नेता बनेर राजनीति गर्ने । महत्वाकांक्षा छैन, अकुत सम्पत्ति कमाउने । केवल एउटी छोरीलाई राम्रो स्कूल पढाउन पाए पुग्छ ।

तर, जुन उद्देश्यका लागि राजनीतिमा होमिएको छ, त्यही उसको लागि गलपासो बन्छ ।

राम्रो पक्ष

राजनीतिक सिद्धान्त, आदर्श र साधनाको आलोकमा टेकेर होइन, आफ्नै स्वार्थमा जेलिएर ‘पार्टीका खेताला’ बन्न पुगेका तमाम ‘कार्यकर्ता’ ले हेर्नैपर्ने फिल्म हो, धनपति । बाध्यता, अभाव अनि गरिबीको फाइदा उठाउँदै राजनीतिक दल तथा तिनका नेताले कसरी सर्वसाधारणलाई आफ्नो गोटी बनाउँछन् भन्ने कुरा फिल्ममा राम्ररी देखाइएको छ, ।

यो ब्यानरको अघिल्लो फिल्म ‘पशुपतिप्रसाद’ मा जस्तै यसमा पनि हिरोइज्म र तडकभडक छैन । फिल्म हेरिरहँदा आम पात्रलाई आफ्नै जीवन-भोगाइ पुनरावृत्ति भएको अनुभूति हुन्छ ।

फिल्ममा पात्र थोरै छन् । लोकेसन सीमित छ । कथा सामान्य र सरल छ । यहीभित्र हाँसो-ठट्टा, संवेदना र आवेग मिसाइएको छ ।

फिल्ममा सबैभन्दा अब्बल देखिएका छन् आशान्त शर्मा, जो कुनै अमूक पार्टीको कार्यकर्ताको भूमिकामा देखिएका छन् । धनपति अर्थात खगेन्द्र लामिछाने, उनकी पत्नी बनेकी सुरक्षा पन्त, हरिहर शर्मा, रवि गिरी आदिको अभिनय स्वाभाविक लाग्छ ।

Dhanapati-premier-1

कमजोर पक्ष

‘झोले’ जस्तो डार्क कमेडी, ‘चपली हाइट’ जस्तो सेक्स थि्रलर, ‘भिजिलान्ते’ जस्तो थि्रडी र ‘पशुपतिप्रसाद’ जस्तो विशुद्ध सामाजिक फिल्म बनाएका दीपेन्द्र के खनालले यो फिल्ममा पूर्ववत् मिहिनेत दोहोर्‍याएको देखिँदैन । सोझै भन्नुपर्दा ‘पशुपतिप्रसाद’ जस्तो खिपिएको फिल्म होइन यो ।

पहिलो हाफसम्म धनपतिलाई गलाउनमै अनेक तानाबाना बुनिएको छ । ‘अब के हुन्छ’ भन्ने जिज्ञासाले त दर्शकलाई अल्झाइरहन्छ । तर, कथा गतिशील नबन्दा ‘हाइ काड्नुपर्ने’ अवस्था पनि आउँछ ।

पहिलो हाफपछि कथा फटाफट अघि बढ्छ । तर, ती घटनाले कस्ता मोड पैदा गर्छन् भन्ने सामान्य अनुमान दर्शकले लगाउन सक्छन् । अर्थात् फिल्मको ‘द इन्ड’ कसरी हुन्छ भनेर पूर्वानुमान लगाउन खासै कसरत गर्नु पर्दैन ।

फिल्ममा धनपति परिवारले बोल्ने ‘गरिस्यो, भनिस्यो, मैया साहेब’ जस्ता भाषा त्यति सहज लाग्दैन, भलै उनीहरुको पृष्ठभूमिले त्यो बोलीचालीलाई पुष्टि गरे पनि । त्यस्तै, पात्रको हुलिया अनुसार उसको पेशा र मनोदशामा सामञ्जस्यता छैन । राम्रै परिवारमा हुर्के-बढेका धनपतिले रेष्टुरेन्टको वेटर बनेको पनि पत्यारिलो लाग्दैन ।

कतिपय दृश्यमा धनपतिलाई औडाहा हुन्छ, रुन्छ । तर, त्यसले दर्शकको भावना पगाल्न सक्दैन ।

जसै धनपति राजनीतिमा लग्छन्, उसको पहिरन फेरिन्छ, ग्यासचुल्हो फेरिन्छ, टेलिभिजन फेरिन्छ । यस्तो लाग्छ, उनको जीवन अब कायापलट हुनेछ । तर, यो सिलसिला पनि पत्याउने खालको छैन । धनपतिकी पत्नीले खाना पकाउन स्टोभमा दम हाल्नुपर्छ, जबकि अहिले गरिबको घरमा पनि ग्यास बल्छ । यस्ता थुप्रै असंगत दृश्य र घटनाले धनपतिलाई ‘गरिब’ बनाएको छ ।

यद्यपि नेपाली परिवेशमा बन्ने औंसत फिल्मभन्दा स्वादिलो र रसिलो छ, धनपति ।

मदन भण्डारीको सपना साकार हुने दिन आयो :दाहाल

चितवन, २८ कात्तिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । चुनावी अभियानका ...