मधेस केन्द्रित दलहरुसँग आफ्नै नेतृत्वमा वार्ता गर्ने एमालेको निर्णय

प्रमुख विपक्षी नेकपा एमालेले मधेसवादी दलहरुसँग आफ्नै पहलमा ‘परिणाममुखी’ वार्ता गर्ने निर्णय गरेको छ । मधेस केन्द्रित दलहरुसँग संविधान जारी भएदेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेको एमालेले पछिल्लो समय शुरु भएको अनौपचारिक वार्तालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने बताएको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले अनौपचारिक वार्ता जारी राख्ने निर्णय गरेको छ । परिणाममुखी वार्ता टुंगोमा पुगेपछि सार्वजनिक गरिने एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए ।

एमालेले मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतसँग अनौपचारिक छलफल भएको बताएको छ । पछिल्लो समय राजपा नेताहरुले समेत एमालेसँग सम्बन्ध सुधारको प्रयास गरेका थिए ।

तीन दिनअघि काठमाडौंमा मधेसी बुद्धिजिवीहरुसँगको छलफलमा अध्यक्ष ओलीले अब एमालेले मधेस समस्या समाधानका लागि विशेष पहल गर्ने बताएका थिए ।

UML-Meeting

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मधेस केन्द्रित दलहरुसँग निरन्तर सम्वाद भइरहेको र त्यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन पार्टी केन्द्रित रहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘एमाले मधेसी जनता र मधेशको समस्याबारे गम्भिर छ । हामी सत्तापक्षले जस्तो नक्कली कुरा गर्दैनौं, जे कुरा सम्भव छन् ती पूरा गर्न एमालेले अगुवाई गर्छ । त्यसका लागि सबै पक्षसँग संवाद गर्छौं ।’

२४० निर्वाचन क्षेत्र अस्वीकार

एमालेले २४० निर्वाचन क्षेत्र कायम राखेर चुनावमा जाने प्रस्तावलाई अस्वीकार गरेको छ । हालै भएको प्रमुख तीन दलका दलको शीर्ष बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले २४० निर्वाचन क्षेत्र राख्नेबारे राय मागेका थिए ।

एमालेले संविधान बमोजिम १६५ निर्वाचन क्षेत्र कायम हुनुपर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्ने माग समेत गरेको छ । ‘२४० निर्वाचन क्षेत्र स्वीकार्य छैन, संविधान विपरित सत्तापक्ष जान खोज्दैछ’ एमालेका एक नेताले भने ‘यो भनेको चुनाव नगराउने र अहिलेको संसदको आयु लम्ब्याउने खेल हो ।’ ।

नेता नेम्वाङले एमालेले पनि २४० निर्वाचन क्षेत्रको प्रस्ताव मानेको भनेर हल्ला चलाइएकाले भन्दै खण्डन गरेका छन् । उनले भने, ‘संविधान बमोजिम तोकिएको समयमा तीनै तहका निर्वाचन हुनुपर्छ, यसमा दायाँ बायाँ गर्न एमाले तयार छैन ।’

प्रदेश नम्बर २ मा पनि पहिलो बन्ने

पहिलो र दोस्रो चरणमा चुनाव भएका ६ प्रदेशमा पहिलो पार्टी बनेकोे एमालेले अब असोज २ गते हुने तेस्रो चरणको चुनावमा पनि प्रदेश नम्बर २ को पहिलो पार्टी बन्ने गरी तयारी थाल्न मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमालेले ६ प्रदेशकै जनप्रतिनिधिहरुलाई साउन महिनाभित्रै काम कर्तव्य र अधिकारका बारेमा विज्ञहरुबाट प्रशिक्षण दिने निर्णय गरेको छ । साथै स्थानीय चुनाव कारण स्थगित गरिएका जिल्ला तथा भातृ संगठनका अधिवेशनहरु खुला गरेको छ ।

आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रतिनिधि सभाको आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्। एमाले नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा सम्बोधन ...