पशुपति शमसेरको राप्रपा फुटेको हैन, नयाँ दल !

निर्वाचन आयोगले पशुपति समसेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई विभाजित दलका रुपमा नभएर नयाँ दलका रुपमा दर्ता गर्ने निर्णय गरेको छ ।

राप्रपाबाट फुटेर गठन भएको उक्त पार्टीले भने राजनीतिक दल ऐन, २०७३ को दफा ३३ को उपदफा २ बमोजिम दल दर्ताका लागि आवेदन दिएको थियो । उक्त कानुनी व्यवस्थामा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको नमानिने उल्लेख छ ।

तर, आयोगले उक्त पार्टीलाई दफा ५ को उपदफा ४ बमोजिम दर्ता गर्ने निर्णय गरेको छ । ऐनको उक्त प्रावधानअनुसार नयाँ दल दर्ता हुन्छ । जसमा भनिएको छ, ‘प्रस्तावित दल संविधान र यस ऐन बमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले उपदफा (१) बमोजिम निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनु पर्नेछ ।’

ऐनको दफा ५ बमोजिम आयोगमा दर्ता हुने दलले दलको विधान, घोषणापत्र, झण्डा, चिन्हको नमूना, कम्तीमा पाँच सय मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र निजहरुको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर, ती व्यक्तिहरुले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र, कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था, र आयोगले आवश्यक ठानेका अन्य विवरण र कागजात पेश गर्नु पर्छ ।

राप्रपा (प्रजातान्त्रिक)ले आफूसँग १८ जना सांसद रहेको दाबी गर्दै आएको छ । दफा ३३ को प्रावधानबमोजिम दल दर्ता भएको भए उनीहरुको वैधानिकताको प्रश्न उठ्ने थिएन । किनभने, त्यो मातृ पार्टीबाट विभाजित दल हुने थियो । नयाँ दलका रुपमा दर्ता भएकाले कमल थापाको नेतृत्वमा रहेको राप्रपाले संसदमा उनीहरु आफ्ना सांसद नरहेको जानकारी दिए स्वतः पदमुक्त हुने अवस्था सिर्जना भएको छ ।

त्रिभुवन विमानस्थलभित्रै देखियो चितुवा, आधा घण्टा उडान-अवतरण रोकियो

२१ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चितुवा छिरेको छ । तर, विमानस्थलभित्र नै चितुवा हराएको छ ।  विमानस्थल प्रहरीका अनुसार विमानस्थलमा चितुवा देखिएपछि अहिले ...