स्थानीय तहमा पनि प्रतिपक्षी गठबन्धन

झण्डै दुई दशकपछि भएको स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले दैनिक काम कारवाही थालिसकेका छन् ।

स्थानीय तहमा निर्वाचित भएका व्यक्तिहरुले राजनीतिक दलको नेता हुँदा भन्दा स्थानीय तहमा सरकारको प्रतिनिधिको रुपमा चयन भएपछि फरक जिम्मेवारी पनि बोध गरेका छन् । तर तीनै जनप्रतिनिधिले स्थानीय सरकारमा रहेर गरेका काम कारवाहीको खबरदारी गर्ने क्रम पनि सुरु भएको छ ।

स्थानीय सरकारमा सामेल नभएका दलहरुले गठबन्धन नै बनाएर खबरदारी थालेका छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका एक तहमा कांग्रेस र बाँकी सबैमा नेकपा एमाले विजयी भएको थियो । अहिले ती सबै स्थानीय तहमा जनप्रतिनिधिले गरेका काम र गतिविधिलाई प्रतिपक्षीले नजिकबाट खबरदारी गर्न थालेका छन् ।

नेकपा एमालेले विजयी हासिल गरेको फेदाप गाउँपालिकामा एमाले बाहेकका राजनीतिक दलहरुले छ दलीय गठबन्धन नै बनाएका छन् । गाउँपालिका तथा वडा कार्यालयहरुले गर्ने कार्य सम्पादनलाई नजिकबाट अध्ययन गरी गलत गतिविधि हुन नदिने गठबन्धनको उदेश्य राखिएको छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मन्च, नयाँ शक्ति नेपाल र नेपाल कम्युनिष्ट पार्टी संलग्न छन् ।

स्थानीय सरकारको बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्न छ दलीय गठबन्धन बनाइएको नेपाली कांग्रेस फेदापका सचिव सहविर बुढाथोकीले बताउनुभयो । ‘स्थानीयबासीन्दाका लागि अब स्थानीय सरकार धेरै महत्वपूर्ण र अधिकारसम्पन्न छ, त्यसले गर्ने काम नागरिकप्रति कति जवाफदेही, पारदर्शी र समानुपातिक छ ? भन्ने रेखदेख गठबन्धनले गर्छ,’ उहाँले भन्नुभयो ।

स्थानीय नागरिकहरुको चाहना विपरीत कुनै पनि काम जनप्रतिनिधिले गर्नु नहुने गठबन्धनका संयोजक दुर्गा निङ्लेकुले बताउनुभयो । ‘जनताकै काम गर्नका लागि जनप्रतिनिधि निर्वाचित भएका हुन्’, उहाँ भन्नुहुन्छ, ‘उनीहरुले जनताको मर्म र हित विपरीत कुनै पनि काम नगरुन् भन्ने हाम्रो चाह हो ।’

जनप्रतिनिधिले सरकारमा बसेर प्रवाह गर्ने सेवामा राजनीतिक आस्थाका आधारमा विभेद गर्नु नहुने पोक्लाबाङ बजार सरसफाई तथा व्यवस्थापन समितिका अध्यक्ष चिरिन्जीवी खनालले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहमा पनि प्रतिपक्षी दलहरुले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन् । ‘राम्रो काममा हामी साथ पनि दिन्छौँ,’ एक स्थानीय तहमा जित निकालेको कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले भन्नुभयो, ‘गलत गतिविधिको भण्डाफोर गरेर जनताका माझ लैजानु त झन् हाम्रो कर्तव्य नै हो ।’

जिल्लाका सबै स्थानीय तहका नेता कार्यकर्तालाई वलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्न पार्टीले निर्देशन गरेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका केन्द्रिय सदस्य चिन्तन बरालले स्थानीय सरकारले नै अब जिल्लाको विकासको खाका तय गर्ने भएकाले प्रतिपक्षको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

लामो समयपछि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अहिले भ्याई–नभ्याई भइरहेको छ । उनीहरु विहान देखि साँझसम्म सामाजिक काममै व्यस्त रहन्छन् । विहान–बेलुकी गाउँका साना तिना मुद्धा मामिला हेर्छन्, झै–झगडा मिलाउँछन् ।
दिनभर कार्यालयमा योजना निर्माण, बजेट व्यवस्थापन र अरु काममै व्यस्त देखिन्छन् । जनप्रतिनिधिको रुपमा निर्वाचित भएदेखि अहिलेपनि हरक्षण आफ्नो पाँच वर्षे कार्यकाल कसरी सफल बनाउने भन्ने सोचिरहने गरेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । उहाँले प्रतिपक्षी बलियो भएमात्रै जनप्रतिनिधिले राम्रो गर्न सक्ने बताउनुभयो ।

जिल्लाका छ स्थानीय तहमा अहिले २ सय ४१ जना जनप्रतिनिधि निर्वाचित भएर कार्यरत छन् । दुई नगरपालिकामध्ये म्याङलुङ्गमा नेकपा एमाले र लालीगुराँसमा नेपाली कांग्रेसले जितेको छ । चार गाउँपालिकामध्ये आठराई, फेदाप र छथर गरी तीन गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एमालेले बहुमत ल्याएको छ भने मेन्छ्यायेम गाउँपालिकामा अध्यक्ष एमाले र उपाध्यक्षसहित बहुमत कांग्रेसले जितेको छ ।

जिल्लाका ४३ वटा वडामध्ये एमालेले २२, कांग्रेसले १९, माओवादी केन्द्रले १ र स्वतन्त्रतर्फ १ जनाले वडाध्यक्ष जितेका छन् । महिला सदस्यतर्फ एमालेले २५, कांग्रेसले १६, माओवादी केन्द्रले १ र स्वतन्त्र १ जना विजयी भएका छन् । दलित सदस्यमा एमाले २४, कांग्रेस १८ र स्वतन्त्र १ जना छन् । खुला सदस्यमा एमाले ५२, कांग्रेस ३२ स्वतन्त्र २ जनाले जितेका छन् ।

धनियाँमा पनि निर्भर छैन नेपाल

१९ असोज- भारतले आफू अनुकुलको संविधान नभएको भनी नेपालमा अघोषित नाकाबन्दी गरेपछि नेपाल आत्मनिर्भर हुनुपर्ने बहस सबैतिर छ । तर नेपाल आत्मनिर्भर हुनुपर्ने बहस शुरु ...