चौरीपालक किसानको बढेसँगै रसुवामा चिज उत्पादन बढ्यो

रसुवा कार्तिक २०, रसुवामा यो वर्ष चिज उत्पादन बढेको छ । चौरीपालक किसानको संख्या बढेपछि चिज उत्पादन बढेको हो । भूकम्प जानूअघि झण्डै ३६ हजार किलो चिज उत्पादन हुने गरेकोमा त्यसपछिका दुई वर्ष उत्पादन घटेको थियो । २०७२ सालमा ३४ हजार किलो उत्पादन भएकोमा ०७३ मा २९ हजार किलो चिज उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय रसुवाले जनाएको छ ।

यो वर्ष रसुवामा झण्डै ३४ हजार ५ सय किलो चिज उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । यो गत वर्षको तुलनामा ५ हजार किलो बढी हो । गत वर्ष जिल्लामा रहेका ४ वटा केन्द्रबाट झण्डै २९ हजार ५ सय किलो चिज उत्पादन भएको थियो ।
दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चिज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित धुन्चे, चन्दनबारी र लाङटाङ तथा पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङमा चिज उत्पादन हुँदै आएको छ ।
वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भएपनि पर्याप्त मात्रमा दूध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चिज उत्पादन हुने गरेको केन्द्रहरुले जनाएका छन् । गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । यो वर्ष धुन्चे उत्पादन केन्द्रमा ११ हजार ५ सय, चन्दबारीमा ९ हजार, लाङटाङमा २ हजार र गत्लाङमा १२ हजार चीज उत्पादन भएको छ ।
त्यसैगरी ११ हजार ७ सय किलो मखन उत्पादन भएको छ । धुन्चेमा तीन हजार नौ सय, चन्दनबारीमा तीन हजार दुई सय, लाङटाङमा ८ सय र तीन हजार ८ सय केजी मखन उत्पादन भएको कार्यालयले जनाएको छ । चिज उत्पादन केन्द्र गत्लाङका प्रमुख धन बहादुर जिरेलका अनुसार चौरीपालक कृषक बढेका र दूध उत्पादन पनि बढेकाले क्षमता भन्दा बढी उत्पादन भएको हो ।

“भूकम्प गएको वर्ष चिज उत्पादन घटेको थियो, गत वर्ष केही सुधार भएको थियो तर यसपाली त लक्ष्यभन्दा बढी उत्पादन भयो” उहाँले भन्नुभयो ।
उत्पादन बढ्दै जाँदा सञ्चालक उत्साहित भए पनि प्रविधिको अभावमा समस्या आउने गरेको भेटिएको छ । चौरीपालक कृषकले दूध ल्याउँदा सरसफाईमा ध्यान नदिने र बिगौती दूध ल्याउँदा भने समस्या हुने गरेको धुन्चे केन्द्रका प्रमुख पूर्ण बहादुर जिरेलको भनाइ छ ।
उहाँले भन्नुभयो “चौरीले बच्चा पाएको एक दुई दिनदेखि नै कृषकले दूध ल्याउन थाल्छन् । एक हप्तासम्म बिगौती दुध हुने भएकाले प्रयोग गर्न मिल्दैन् । तर प्रविधिको अभावले दूध छुट्याउन नसक्दा चिज बिग्रने सम्भावना रहन्छ ।” बैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको छ ।

काठमाडौंको चपलीमा बम विस्फोट,गगन थापा घाइते

काठमाण्डौ मंसिर १८ , काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । ...