रसुवामा शनिबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुने

रसुवा, कात्तिक २२ – रसुवामा आउँदो शनिबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । निर्वाचन शिक्षाको लागि समयमा नै सामग्री उपलव्ध हुन नसकेपछि कार्यक्रम झण्डै दुई हप्तापछि धकेलिएको हो ।

जिल्ला निर्वाचन कार्यालयले यसअघि कात्तिक १३ गतेबाट कार्यक्रम सञ्चालनका लागि तयारी गरेको थियो । कार्यक्रम सञ्चालनको तयारी गर्दैगर्दा निर्वाचन आयोगले केही समयपछि कार्यक्रम सञ्चालन नगर्न पत्र पठाएपछि कार्यक्रम स्थगित गरिएको थियो ।
कार्यक्रम स्थगित भएपछि तालिम लिन आएका एक दर्जन भन्दा बढी निर्वाचन शिक्षा कार्यकर्ता फर्किन बाध्य भएका थिए । कार्यालयका अनुसार निर्वाचन शिक्षा कार्यक्रम कात्तिक २५ गतेदेखि ३० गतेसम्म सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ ।

आयोगले कार्यक्रम सञ्चालनका लागि अनुमति दिएकाले तालिम सञ्चालन गर्नका लागि कार्ययोजना बनाइएको हो । मतदाता शिक्षा कार्यकर्ता, कार्यकारी अधिकृत, पत्रकार, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको लागि निर्वाचन सम्बन्धी तालिम गरिने कार्यालयले जनाएको छ ।
समयमा नै तालिम सञ्चालन गर्न नसक्दा छनोट गरिएका ४५ जना कार्यकर्ता कामबिहीन भएका छन् ।
मतपत्र तीन वटा हुने भए पनि स्थानीय तहको चुनावमा भन्दा अहिले मतदान गर्न सहज हुने भएकाले बदर मत नबढ्ने जिल्ला निर्वाचन अधिकारी नबिन खालिङले बताउनुभयो । ‘मतदाता शिक्षा कार्यकर्ताले कत्तिको बुझाउन सक्छन् भन्ने कुरा मात्र हो, छोटो समयमा नै पनि उनीहरुले सिकाउन सक्छन्’उहाँले भन्नुभयो ।
यो पटकको चुनावमा तीन वेटा मतपत्र रहेकाले मतपेटिका पनि तीन वटै हुने छ । प्रतिनिधिसभा तर्फ दुई वटा र समानुपातिकतर्फ एउटा मत पत्र रहेको छ ।
प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक फरक हुने भएकाले एउटा मतपत्रमा एउटा एउटा मत हाल्नु पर्ने हुन्छ भने समानुपातिक तर्फ प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको लागि दुई वटा चिन्हमा मत हाल्नुपर्ने जिल्ला निर्वाचन अधिकारी खालिङले बताउनुभयो ।
निर्वाचन शिक्षा कार्यकर्ता समयमा नै परिचालन गर्न नसक्दा बदर मत बढ्ने जोखिम बढेको छ । ४५ वटा मतदान केन्द्र रहेको रसुवामा सोही सङ्ख्यामा कार्यकर्ता खटाउने तयारी भएको छ ।

स्थानीय तहको चुनावमा पनि समयमा नै कार्यकर्ता परिचालन गर्न नसक्दा बदर मतको सङ्ख्या अत्याधिक बढेको थियो । वैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा झण्डै ८२ प्रतिशत मत खसेकोमा झण्डै ८ प्रतिशत मत बदर भएको थियो ।
यो २०७० सालमा भएको चुनावको तुलनामा झण्डै ६ प्रतिशत बढी हो । ०७० सालको चुनावमा ८६ प्रतिशत मत खस्दा १.८७ प्रतिशत मत मात्र बदर भएको थियो । सो चुनावमा २० हजार दुई सय ५३ मतदाताले मतदान गरेकोमा तीन सय ७९ मत मात्र बदर भएको थियो ।
गएका वैशाखमा भएको स्थानीय तहको चुनावमा २२ हजार छ सय ८९ मत खसेकोमा एक हजार छ सय २८ मत बदर भएको कार्यालयले जनाएको छ । २०७० को चुनावमा २३ हजार पाँच सय ३३, २०७० को स्थानीय तहको चुनावमा २७ हजार आठ सय ५४ मतदाता रहेकोमा अब हुने चुनावमा ३३ हजार तीन सय २२ मतदाता रहेका छन् ।

दल दर्ताका लागि राजपाले दियो आवेदन

राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । शुक्रबार कान्तिपथस्थित आयोगमा पुगेर राजपाका शीर्ष नेताहरुले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन ...