रसुवागढी भन्सारमा अत्याधुनिक प्रविधि जोडियो,कर्मचारी र व्यापारी उत्साहित

रसुवा कार्तिक ३०, रसुवागढी भन्सार कार्यालयमा ‘आशिकुडा वल्र्ड सिस्टम’ जडान गरिएपछि कार्यालय र व्यापारीलाई काम गर्न सजिलो भएको छ । चीनसँगको अन्य नाका सञ्चालन नहुँदा रसुवागढीमा व्यापारिक चाप बढेपछि कार्यालयले आधुनिक प्रणाली जडान गरेर व्यापारलाई सहज बनाएको छ ।
भन्सारले आधुनिक प्रणाली सुरु गरेपछि व्यापारी पनि उत्साहित बनेका छन् । प्रणालीको जडानले कार्यालयलाई सामग्रीको मूल्याङ्कन गर्न, गेट पास सक्कली वा नक्कली भएको भन्ने बारे पत्ता लगाउने काममा सहज भएको छ ।

यसअघि हातले लेखेर गर्नुपर्ने कार्य कम्प्युटरबाट हुन थालेपछि छिटो छरितो भएको कार्यालयले जनाएको छ । आधुनिक प्रणालीले कार्यालयलाई मात्र होइन व्यापारीलाई पनि सहज बनाएको छ । सामग्री आयात निर्यात गर्न तथा राजस्व बुझाउनका लागि भन्सार धाउनुपर्ने बाध्यता हटेको व्यापारी नबराज तिमिल्सिनाले बताउनुभयो ।

‘यसअघि झन्झटिलो कागजी प्रक्रियाका कारण कठिनाइ हुन्थ्यो, अहिले सबै काम कम्प्युटरको माध्यमबाट गर्ने हुँदा काममा सहजता आएको छ’ उहाँले भन्नुभयो । ‘अहिले त काठमाडौंमा नै बसेर सबै काम गर्न सकिन्छ, राजस्व पनि बैंकबाट नै तिर्न मिल्ने हुँदा भन्सार गइरहनु पर्दैन’ अर्का व्यापारी व्यापारी बासु बस्नेतले भन्नुभयो ।

प्रणाली जडान नहुँदासम्म समयमा नै भन्सार मूल्याङ्कन नहुने, भन्सारमा कम मूल्य देखाएर बजारमा बढी मूल्यमा सामग्री बेच्ने, भन्सार यार्डमा गाडीको चाप बढ्ने, सामग्री चोरी हुने, धेरै समय लाग्ने लगायतको समस्या आउने गरेको थियो ।
प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाका अनुसार हरेक महिना राजस्व तिर्न सदरमुकाम जानुपर्ने वाध्यता हटेको छ । यो प्रणालीले आन्तरिक राजश्व विभाग र भन्सार विभागबीच प्रणालीगत समन्वय हुने हुँदा हरेक क्रियाकलाप विभागले निगरानी गर्ने पनि कोइरालाले बताउनुभयो ।
कार्यालयलाई प्रविधिमैत्री बनाएर निकासी पैठारी व्यापारलाई अझ बढी व्यवस्थित बनाउँदै लैजाने उद्देश्यले प्रणाली जडान गरिएको कार्यालयले जनाएको छ । डाटा इन्टिग्रेसन प्रणाली अनुसार भन्सारमा कुनैपनि सामान आयातकर्ताले घोषणा गरेको सामानको मूल्य र त्यसको परिमाण सहितको सबै विवरण आन्तरिक राजश्व विभागमा पठाइने उहाँको भनाई थियो ।

कुनै पनि व्यवसायीले भन्सारमा घोषणा गरेको मूल्य र परिमाणको सम्पूर्ण विवरण करदाताको प्यान विवरण अनुसार उसको खरीद खाता जस्तैगरी थाहा पाउन सकिने उहाँले जानकारी दिनुभयो ।

प्रणालीले सामग्रीको तथ्याङ्क राख्ने कार्य गर्दछ । प्रमुख भन्सार अधिकृत कोइरलाले भन्नुभयोे, “कति सामग्री आयो, कतिखेर आयो, यसको मूल्य कति हो, कुन कर्मचारीले र्हेयो भन्ने लगायतका जानकारी प्रणालीले नै राख्छ ।”
कार्यालयलाई प्रविधिमैत्री बनाएसँगै कार्यालयले राजस्व उठाउन पनि छाडेको छ । कार्यालय आफैँले राजस्व उठाउन नपरेपछि कार्यालयमा रहेको क्यास काउन्टर बन्द गरिएको छ ।

भन्सारको सम्पूर्ण आर्थिक कार्य बैंक अफ काठमाडौंले गर्ने भएपछि काउन्टर बन्द गरिएको कार्यालयले जनाएको छ । यसअघि कार्यालय आफैँले बुझ्दै आएको राजस्व अहिले बैँकले निशुल्क सेवा दिन थालेपछि कार्यालयलाई सहज भएको छ ।
राजस्व बुझाउनका लागि व्यापारीले खातामा रकम जम्मा गरे पुग्छ । यसअघि कार्यालयले राजस्व उठाएर सदरमुकाममा रहेको नेपाल बैँकमा आएर बुझाउने गरेका थिए ।

मैलुङ खोला जलविद्युत आयोजनाप्रति स्थानियलाई किन लाग्यो शंका ?

रसुवाको मैलुङ खोला जलविद्युत आयोजनाले स्थानीयको लागि जारी गरेको शेयर वितरणमा अनियमितता भएको भन्दै स्थानीयले सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा ज्ञापन पत्र बुझाएका छन् । ...