ओली र प्रचण्डको एउटै स्वर : पदको लोभ छैन

काठमाडौं, पुस २ –वाम गठबन्धनले नयाँ सरकार गठनका लागि बाटो खुल्ला गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । साथै उसले चुनावपछि प्राप्त गरेको बहुमत र नागरिकले दिएको जनमतको सम्मान गर्न पनि भनेको छ ।

आइतबार दरबारमार्गको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी वाम गठबन्धनका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले अध्यादेश पारित नगरेको बाहना देखाएर सरकारमा नबस्न देउवालाई आग्रह गर्नुभयो । उहाँले राष्ट्रियसभा गठन सम्बन्धीको अध्यादेश राष्ट्रपतिले तत्काल पारित नगर्ने पनि स्पष्ट पार्नुभयो ।

सरकारले गर्ने काम आफूले गर्छु भन्ने बाहना बनाएर सत्ता लम्ब्याउन खोजे देउवा र कांग्रेसको हारपछि बचेको अलिअलि साख पनि नजोगिने ओलीले बताउनुभयो । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायतका नेता सहभागी थिए ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ओली र प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री र अध्यक्षको लोभ नभएको बताउनुभयो । वाम गठबन्धनबाट जो प्रधानमन्त्री बने पनि सहमतिमा बन्ने उहाँहरु दुवैको दावी थियो । ओली र प्रचण्ड दुवैले आफूहरु प्रधानमन्त्री पनि भैसकेको बताउँदै अहिले पनि दुवै पार्टी अध्यक्ष नै भएकाले को प्रधानमन्त्री बन्ने र को अध्यक्ष बन्ने भन्ने कुरामा विवाद नै नभएको बताए ।

चुनाव सकिएर मतगणनाको सबै परिणाम आइसक्दा पनि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिएपछि वाम गठबन्धनले औपचारिक रुपमै सरकार छाड्न आग्रह गरेको हो ।

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२४ चैत, रसुवा । रसुवामा आजदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति रसुवाले आयोजना गरेको प्रतियोगितामा ८ वटा ...