रञ्जित गजमेर भन्छन्- नेपालीको मायाले धेरै बाँच्ने रहर छ

पोखरा । एक समय नेपाली चलचित्रमा अनवरत छाएका संगीतकार हुन्, रञ्जित गजमेर । गजमेरले संगीत भरेको चलचित्रको कुनै गीत होस् र हिट नहोस् असम्भवजस्तै बन्यो एक समय । गजमेरले संगीत भरेका गीत चर्चितमात्रै बनेन् कालजयी र अहिलेसम्म पनि उत्तिकै जनजिब्रोमै छ ।

उनै गजमेर शनिबार पोखरामा अभिनन्दित भएका छन् । गजमेर अभिनन्दितमात्रै भएनन्, उनलाई नै साक्षी राखेर पोखरेली कलाकारले उनकै गीत गाए ।

गजमेरको संगीतमा स्वरसम्राट नारायण गोपालदेखि साधना सरगम, उदीतनारायण झासम्मले गाएका चर्चित गीतलाई गायक रामभक्त जोजिजु, कर्ण दास, विनोद बानियादेखि आशा स्वरुपसम्मले गाए ।पोखरा महानगरपालिका र कन्दरा ब्यान्डले गजमेरलाई अभिनन्दन गरेको हो भने पोखरेली कलाकारले गजमेरका चर्चित गीत गाएर सम्मान व्यक्त गरे ।

गजमेर आफ्नै गीतको साक्षी बनेर स्रोताका रुपमा अगाडि बसेर सुने । कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले गजमेरको संगीतमा स्वरसम्राट नारायण गोपालले गाएको ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ’ गीत गाएपछि गजमेरको सम्मानमा संगीतिक माहोल सुरु भयो ।

गायक विवेकले यो गीत रेकर्ड हुँदा नारायण गोपालसँगको संस्मरण सुनाउन गजमेरलाई मञ्चमै बोलाए । नारायण गोपालले पटकपटक आधा गाउँदै छोड्ने र गीत सकिनैलाग्दा छाडिदिएको रमाइलो किस्सा गजमेरले सुनाए ।

कार्यक्रममा संगीतकार गजमेरले नेपालीको मायाले अझै बाँच्ने रहर पलाएको बताए । ‘नेपाल र नेपालीको मायाले अझै बाँच्न रहर लागेको छ,’ गजमेरले भने, ‘पोखरा आएर कहिल्यै सम्मानित हुन्छु जस्तो लागेको थिएन ।’

कन्दराका गायक विवेकपछि मञ्चमा उक्लेका गायक रामभक्त जोजिजुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्द र गजमेरको संगीतमा रविन शर्माले गाएको ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत गाएर थप सांगीतिक माहोल तताए ।

गायक विनोद बानियाले साइनो चलचित्रको ‘सुन कथा एउटा गीत’ गाएपछि गायक कर्ण दासले लाहुरे चलचित्रको ‘वीरताको चिनो’ गाएर गजमेरको सम्मान गरे ।

यसैगरी रुबि गौली, स्वरुपा आशा, रजनी राई, अजुदा थापा लगायतले पनि लगातार गीत गाए ।

गजमेरको अभिनन्दन तथा सम्मानमा भएको सांगीतिक कार्यक्रमको प्रमुख वक्ता थिए, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । गुरुङले गजमेरको सम्मानमा शीरमात्रै झुकाएनन्, गजमेरजस्ता सयौं साधक जन्माउनुपर्ने बताए ।

प्रदेश ४ लाई कला, साहित्य, संगीत र नाटकको क्षेत्रमा पनि नमूना प्रदेश बनाउन कटिवद्ध रहने मुख्यमन्त्री गुरुङले प्रतिवद्धता जनाए ।

गायक दीप श्रेष्ठले गजमेर संगीतको विश्वविद्यालय भएको बताए ।

कवि तीर्थ श्रेष्ठले नेपाली संगीत क्षेत्रमामात्रै नभएर नेपाली मादललाई हलिउडमा स्थापित गराउन सफल एक साधकको रुपमा गजमेरलाई चिनाए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरपालिकाले कला, साहित्य, संगीत उन्नयन र यो क्षेत्रमा विशेष योगदान दिने व्यक्तिको सम्मान गर्ने परिपाठी बसाल्न पनि कार्यक्रम गरिएको बताए ।

सर्जक मरिसकेपछि भन्दा उनी जिउँदै छँदा सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि कार्यक्रम गरिएको कन्दराका विवेकले बताए । ‘जसले नेपाली सिने जगतलाई लोकप्रिय तथा कर्णप्रिय गीत दिए, जसले गीतमा नेपाली स्वाद दिए, उनैको सम्मान तथा अभिनन्दमा कार्यक्रम गरेका हौं,’ विवेकले भने, ‘नेपालीलाई यति ठूलो संगीतको उपहार दिने व्यक्तित्वको सम्मानमा कार्यक्रम गर्न पाउनु पनि गर्वको कुरा हो ।’

शनिबार नै विवेक श्रेष्ठ र स्वरुपा आशाको आवाज, रञ्जित गजमेरको एकल संगीत, स्वर्गीय गीतकार अगमसिंह गिरी, कुशुम गजमेर, अर्जुन सापकोटा र रञ्जितका शब्दमा ‘रञ्जित गजमेरको कृति’ एल्बम विमोचन भएको छ ।

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा समाहित गराएका गजमेरले सयौं गीतमा संगीत भरेका छन् ।  ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता चलचित्रका गीतमा उनी एकछत्र छाए ।

१९६७ मा गजमेर काठमाडौं आएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए । पछि उनी मुम्बई (बम्बई)मा संगीतिक करियर बनाउन आरडी बर्मनको सहकार्य गर्न पुगेका थिए ।

उनले थुप्रै भारतीय फिल्ममा संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन् । सन् १९८२ मा उनले आशा भोसलेको लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए ।

तस्वीर: युनिस गुरुङ/अनलाइनखबर

२०७४ फागुन २० गते ९:३३ मा प्रकाशित

‘नाका’ मा यस्तो रुपमा देखिदैँ ‘भष्मे डन’

चलचित्र ‘पशुपतिप्रसाद’ बाट चर्चित र लोकप्रिय बनेका कलाकार हुन् बिपिन कार्की । चलचित्र ‘पशुपतिप्रसाद’मा अभिनय गर्नुपूर्व उनी धार परिवर्तन गरेको भनिएको चलचित्र ‘लुट’ मा पनि ...