फराकिलो जित मात्र विकल्प

HK vs NEP 19th ODI Match, ICC World Cup Qualifiers, 2018

काठमाडौं– आइसिसी विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बाब्वे उड्नुअघि नेपाली टोलीले तय गरेको मुख्य लक्ष्य हो, सुपरसिक्स। त्यही मूल लक्ष्यलाई साकार बनाउन बिहीबार नेपालले हङकङलाई फराकिलो रनरेटमा हराउनुको विकल्प छैन।

समूहचरणको अघिल्ला तीन खेलमा पराजित भएपछि सुपरसिक्स पुग्ने नेपालको बाटो साँघुरो बनेको छ। आयोजक जिम्बाब्वेसँग १ सय १६ रनको फराकिलो हारसँगै प्रतियोगिताको सुरुआत गरेको  नेपाली टोलीले त्यसपछिका दुई खेलमा पनि सुधारिएको प्रदर्शन गर्न सकेन । दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई ६ विकेटको नतिजा सुम्पियो । समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ, सुपरसिक्सको झीनो आशासहित।

नेपालको ठीक विपरीत हङकङ अन्तिम खेलमा विजय हासिल गर्दै सुपरसिक्समा स्थान पक्का गर्न मैदान उत्रनेछ। समूह ‘बी’ बाट जिम्बाब्वे र स्कटल्यान्डले अघिल्लो चरणमा स्थान पक्का गरिसकेको छ । बुलाबायो स्पोटर्स क्लबमा हुने खेलमा हङकङलाई सुपरसिक्समा पुग्न जित पर्याप्त हुनेछ भने नेपाललाई रनरेट राम्रो बनाउनुपर्ने बाध्यता छ । नेपालले जित मात्र निकालेर रनरेटमा सुधार गर्न सकेन भने भर्खरै टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तान भाग्यमानी बन्नेछ । समान ६ अंक जोडेको जिम्बाब्वे र स्कटल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । दुवै टोलीले तीन खेल खेलेका छन् । चार खेल खेलेको अफगानिस्तानसँग २ अंक छ । हङकङले ३ खेलबाट २ अंक जोडेको छ भने नेपालले कुनै अंक जोड्न सकेको छैन। बलियो पक्ष मानिएको बलिङले पनि जिम्बाब्वेको पिचमा जादु देखाउन सकेको छैन ।

पछिल्लो तीन खेल हेर्ने हो भने नतिजा नेपालको पक्षमा छैन । २०१४ को विश्वकप छनोट(आइसिसी ट्रफी) मा १० विकेटले पराजित भएको नेपाल केही महिनाअघि विश्वकप क्रिकेट लिग च्याम्पियनसिपमा ८३ रनले पराजित भएको थियो । च्याम्पियनसिपको दोस्रो खेल र यही प्रतियोगिताअघिको अभ्यास खेल भने वर्षाका कारण हुन सकेन।

परम्परागत रूपमा कमजोर मानिएको नेपाली ब्याटिङ कप्तान पारसको प्रदर्शनमा निर्भर छ । पारसले तल्लो क्रमका ब्याट्सम्यानबाट सहयोग पाए पनि अग्रपंक्तिबाट आशातीत साथ पाउन सकेका छैनन् । उपकप्तानसमेत रहेका ओपनर ज्ञानेन्द्र मल्लले तीन खेलमा ५६ रन मात्र बनाएका छन् भने दिलीप नाथले ६ रन मात्र जोडेका छन् । अफगानिस्तानविरुद्ध मौका पाएका अनिलकुमार शाह पनि आफ्नो प्रभाव छाड्न असफल रहे । ओपनिङमा ज्ञानेन्द्रको ब्याटबाट रन नबनेको लामो समय भइसक्यो । तर, प्रशिक्षक र कप्तानले ज्ञानेन्द्रको विकल्प खोज्न सकेका छैनन् । अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ह्यामस्ट्रिङ चोटका कारण अफगानिस्तानविरुद्ध खेल्न सकेनन् । उक्त खेलमा शरदको अभाव खट्किएको थियो। शरदको चोटमा सुधार आए पनि उनी खेल्ने निश्चित भइनसकेको टोली व्यवस्थापक रमण शिवाकोटीले बताए । बलियो पक्ष मानिएको बलिङले पनि जिम्बाब्वेको पिचमा जादु देखाउन सकेको छैन।

नेपालजस्तै हङकङको ब्याटिङ पनि अंशुमन रथको प्रदर्शनमा निर्भर छ । रथले तीन खेलमा १ सय ५० रन बनाइसकेका छन्। बलिङमा पनि इसन खानले ९ विकेट तथा इसन नवाजले ६ विकेट लिइसकेका छन्।

प्रतियोगितामा समूहका शीर्ष तीन टोलीले सुपरसिक्स स्थान बनाउँछन्। सुपरसिक्समा एउटा समूहका तीन टोलीले अर्को समूहका तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपरसिक्समा टोलीले जोडेको अंकमा समूहचरण(अन्तिम दुई टोलीविरुद्ध जोडेको अंक बाहेक)को अंक पनि जोडिन्छ। सुपरसिक्सका शीर्ष दुई टोलीले इङ्ल्यान्ड र वेल्समा हुने विश्वकप २०१९ मा स्थाान बनाउनेछन्।

नेदरल्यान्डबाहेक अन्य शीर्ष तीन एसोसिएट राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । पुछारका दुई एसोसिएट टोली (नेदरल्यान्ड्सबाहेक) विश्व क्रिकेट लिग डिभिजन–२ मा झर्नेछन्।

कला र संस्कृति विकासमा लाग्ने उम्मेदवारको प्रतिबद्धता

ललितपुर, १६ मंसिर (रासस) ः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति झण्डै एक साता मात्रै बाँकी हुँदा उम्मेदवारले पाटनको मौलिक कला र संस्कृति संरक्षण र विकासमा ...