युएस बंगलाका पाइलटले यसरी टारे अर्को ठूलो दुर्घटना

त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा सोमबार युएस बंगला विमान दुर्घटनाग्रस्त भयो। विमानमा रहेका कम्तिमा ४९ यात्रुसहित पाइलटहरुले पनि ज्यान गुमाए।

plane crash tribhuwan internation airport nepalको लागि तस्बिर परिणाम

तर विमानस्थलस्थित सुरक्षा स्रोतहरूका अनुसार युएस बंगला विमान दुर्घटनासँगै अर्को ठूलो दुर्घटना भने टरेको छ। र प्रत्यक्षदर्शी सुरक्षा अधिकारी त्यसको जस युएस बंगला विमानका चालकलाई नै दिन्छन्।

आफूहरु संकटमा परिसकेको अवस्थामा पनि विमानस्थलमा रहेका अन्य जहाज सुरक्षित हुने गरी युस बंगला विमानका चालकहरुले आफ्नो विमान अवतरणको प्रयास गरेको देखिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

अवतरणको प्रयास गर्दैगर्दा युएस बंगला विमानले विमानस्थलको पार्किङ वेमा रहेका थाइ एयर, मालिन्दो एयर र एयर इण्डियाका जहाजहरुलाई बचाउने भरपुर प्रयास गरेको थियो।

विमानस्थल सुरक्षामा खटिएका सैनिक अधिकारीको भनाईमा, पाइलटहरुले नियन्त्रण गुमाएका भए इन्टरनेसनल पार्किङमा रहेका ती कम्पनीका जहाजहरु ध्वस्त हुन सक्थे। र, मानवीय तथा भौतिक क्षति निकै बढी हुने थियो।

‘तर उनीहरुले पूर्ण सावधानीका साथ अवतरणको प्रयास गरे, जसले गर्दा आफ्नो जहाज दुर्घटनामा परेपनि अरु जहाजलाई केही भएन। मानवीय क्षतिपनि कम भयो’, हवाई उडान सम्बन्धमा जानकार विमानस्थलका एक जना उच्च सैनिक अधिकारीले भने।

दक्षिणबाट आएको जहाज सिधै विमानस्थलमा अवतरण गर्नु पर्नेमा उत्तरतर्फको चाँगुनारायणतिर मोडिएको थियो। एयर ट्राफिक कन्ट्रोलसँग विमान चालकहरूको संवाद रेकर्डले चाहिँ अवतरण गर्दैगर्दा ककपीटमा उनीहरू केही अन्योलमा रहेको पुष्टी गरेको छ।

‘ठूलो एटिआर विमान, त्यो पनि विदेशी पाइलटलाई चाँगुनारायणसम्म पुगेपछि घुमाउन गार्‍हो हुन्छ’, सैनिक अधिकारीले नेपालखबरसँग भने, ‘पाइलटको गल्ती त्यहीँनेर भएको देखिन्छ र, दुर्घटना हुनपुग्यो।’

प्रारम्भिक विश्लेषण अनुसार विमानको पछाडितिरबाट तीब्र गतिमा हावा चलेका कारण जहाज उत्तरतर्फ लागेको हुनसक्छ।

‘अवतरणका बेला पछाडिबाट हावा चल्यो भने राम्रो मानिँदैन, त्यस्तो बेला अवतरण गर्न कठिन हुन्छ’ सैनिक अधिकारी भन्छन्, ‘अगाडिबाट हावा चल्यो भनेचाहिँ अवतरण गर्न सहज हुन्छ।’

विमानलाई उत्तर लगेर फेरि दक्षिण मोड्दा तीब्र गतिमा चलेको हावा जहाजको अगिल्तिर पर्छ र अवतरण गर्न सहज हुन्छ भन्ने निष्कर्ष पाइलटहरुले निकालेको देखिन्छ।

‘अवतरण हुनैलाग्दा विमानको पछिल्तिरबाट हावा चल्न थाल्यो अनि चालकहरुले विमान उत्तरतर्फ लगेको देखिन्छ’, उनले भने।

plane crash tribhuwan internation airport nepalको लागि तस्बिर परिणाम

तर, चाँगुनारायणमाथि पुगिसकेको विमानलाई उनीहरुले सही ढंगले मोड्न सकेनन्। त्यसपछि विमान अनियन्त्रित हुँदै विमानस्थलतिर प्रवेश गर्यो। उत्तरतर्फ लाग्दा ठीक राडार माथिबाट गएको विमान विमानस्थल प्रवेश गर्दा राडार राखिएको भन्दा कम उचाईबाट प्रवेश गरेको थियो।

‘परिणाम के हुन पुग्यो भने, प्रवेश गर्ने क्रममा त्यसले विमानस्थलको सुरक्षाका लागि लगाइएका तारबार समेत छेड्यो, त्यसपछि विमान बच्ने कुरै थिएन’, प्रत्यक्षदर्शी अर्का सैनिक अधिकारीले भने, ‘विमानस्थल घेरिएको तारबारलाई छेडेकाले त्यहाँ अहिलेपनि प्वाल छ, तारबारमा ठोक्किएपछि विमानमा आगो लाग्न थाल्यो।’

सोमबारको दुर्घटना नेपालको हवाई इतिहासको एउटा दुखद घटनाको रुपमा दर्ज भइसकेको छ, जहाँ ४ दर्जन बढीले ज्यान गुमाइसकेका छन्।

‘यदि विमान थोरैमात्र पनि तलबाट गएको हुन्थ्यो भने त्यहीँ ध्वस्त हुन्थ्यो’, प्रत्यक्षदर्शी सैनिक अधिकारीले भने, ‘त्यो अवस्थामा थाइ, एयर इण्डिया र मालिन्दो एयरका विमान पनि ध्वस्त हुनसक्थे।’

प्रकाशित २८ फागुन २०७४, सोमबार

एमाले र माओवादीबाट यी नेता मन्त्री बन्दैछन्

काठमाडौं प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन् । आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई ...