अमेरिका छोड्न ६० रूसी कूटनीतिज्ञलाई निर्देशन

वासिङटन – विष सेवन गराएर एक रूसका पूर्वगुप्तचर र उनकी छोरीको हत्या प्रयास प्रकरणमा अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० रूसी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिकाले यसै सन्दर्भमा सियाटलस्थित रूसी महावाणिज्यदूतावास बन्द गराउने पनि निर्णय गरेको छ । ती ६० जनाले कूटनीतिज्ञको भेषमा जासुसी गरिरहेको अमेरिकी आरोप छ ।

 

तीमध्ये एक दर्जनभन्दा बढी यंयुक्त राष्ट्रसंघको मिसनमा कार्यरत छन् । रूसका अवाञ्छित गतिविधि सह्य नहुने चेतावनी दिन यस्तो कदम उठाइएको अमेरिकी अधिकारीले दाबी गरेका छन् । अमेरिकाले उनीहरूलाई सात दिनभित्र अमेरिका छोड्न आदेश दिएको छ । पूर्वगुप्तचर ६६ वर्षीय सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रकरणमा बेलायतलाई साथ दिने अमेरिकी नीतिअनुरूप उनीहरूलाई देश निकालाको घोषणा गरिएको हो ।

 

अमेरिकी ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकिएको स्पष्ट पारेको छ । निष्काशन भएका रूसी अधिकारीले आगामी एक साताभित्र अमेरिका छोड्नुपर्ने गरी अमेरिकाको योे निर्णय आएको नाम गोप्य शर्तमा अमेरिकी अधिकारीले बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनको प्रशासनविरुद्ध अमेरिकी प्रशासनले गरेको यो महत्वपूर्ण र कडा कदम हो । रूसी राष्ट्रपतिमा हालै निर्वाचित पुटिनलाई झण्डै एक साता अघिमात्र फोनमार्फत बधाई ज्ञापन गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले त्यतिखेर स्क्रिपालको मुद्दाबारे कुनै कुरा गरेका थिएनन् ।

 

यसले कतै ट्रम्प रूसप्रति निकै नरम भएका होइनन् भन्ने प्रश्न उठेको थियो । यसै विषयमा बेलायतले यस पहिले नै २३ जना रूसी कूटनीतिज्ञलाई निष्काशन गरेको थियो भने जर्मनी र फ्रान्सले पनि पनि सोमबार नै चार चारजना रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरेका छन् । यसैगरी युरोपेली युनियनका सदस्य रहेका अन्य राष्ट्रले पनि क्रमशः रूसलाई एकल्याउने नीतिअनुरूप कडा कदम चाल्न सहमत भएको ब्रसेल्समा भेला भएका इयु सदस्य राष्ट्रका नेताहरूले बताएका छन् ।

 

यसका साथै पोल्यान्ड, जर्मनी र लिथुआनियाले पनि रूसले जासुसी गरेको आरोप लगाएका छन् । उनीहरूले पनि आफ्नो देशमा कार्यरत रूसी कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेका छन् । युरोपेली युनियनका अध्यक्ष डोनल्ड टस्क पनि इयुका १४ देशले रूसी कूटनीतिज्ञलाई देश निकाला गर्ने जानकारी दिएका छन् ।

 

टस्कले भने, ‘गत साता इयुको बैठकले रूससँग संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय भएको थियो । त्यो नियम आजदेखि लागू भएको हो ।’ यसैबीच रूसले अमेरिका र युरोपेली युनियन आबद्ध १४ मुलुकद्वारा आफ्ना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयको ‘कडा शब्दमा विरोध’ गर्दै यसको यथोचित जवाफ दिने बताएको छ ।

रियल मड्रिडको जित

२३ मंसिर – च्याम्पियन्स लिग फुटबलको समुह ए अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले माल्मो एफएफलाई ८–० ले ...