सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन्

 

चलचित्र पत्रकार संघको आयोजनामा भएको एक दिने कार्यशाला गोष्ठीमा सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन् । अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले सहभागीहरुलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए भने फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए ।
आइतवार काठमाडौंमा भएको कार्यक्रममा कला क्षेत्रको समाचार सम्प्रेषणमा संलग्न एक सय १० जना सञ्चारकर्मी सहभागी थिए । कार्यक्रममा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिताको विकास र वर्तमान अवस्था, प्रेस कानुन र विद्युतीय कारोबार ऐन, बढ्दो युट्युबकारिता, त्यसको प्रभाव र चुनौती, फोटो खिच्ने कला र कपिराइट कानुन लगायतका विषयमा छलफल भएको थियो ।
           
अनलाइन सञ्चारमाध्यम र सञ्चारकर्मीको संख्यामा उल्लेख्य वृद्धि भए पनि समाचार प्रस्तुति र गुणस्तर सोही रुपमा विश्वसनीय हुन नसकेको टिप्पणी गर्दै ढुंगानाले संहिताको पालनामा जोड दिएका थिए ।‘पेशाको मर्यादा राखे मात्र पेशामा संलग्नको पनि मर्यादा रहने हो,’ शुक्रवार साप्ताहिकमा नवनियुक्त सम्पादक ढुंगानाले भने, ‘अनधिकृतरुपमा समाचार, तस्बिर, भिजुअल कपी गरेर प्रकाशन–प्रशारण गर्ने र विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने शैलीबाट सञ्चारकर्मी जोगिनुपर्छ ।’
कार्यक्रमका अर्का प्रशिक्षक विकास कार्कीले फोटो र दृश्य खिच्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा पत्रकारिताकै खिल्ली उड्ने गरेको भन्दै कुन अवस्थामा कसरी तस्बिर र दृश्य खिच्नेबारे जानकारी गराएका थिए । कार्यक्रममा संघका अध्यक्ष सन्दिप सापकोटाले सञ्चारकर्मी र सञ्चारमाध्यमको विश्वसनीयता बढाउन संघले कार्यशालाको आयोजना गरेको बताउँदै मर्यादित पत्रकारितामा जोड दिएका थिए ।
पछिल्लो समय विश्वमै धेरै पढिने विधामा मनोरञ्जन समाचार पर्ने उदाहरण दिँदै कान्तिपुर साप्ताहिकमा आबद्ध पत्रकार कृष्ण भट्टराईले आचारसंहिता पालनामा पत्रकार स्वयम् प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका थिए । चार घण्टासम्म चलेको कार्यशालामा सहभागी संचारकर्मीलाई प्रमाणपत्रको समेत प्रदान गरिएको थियो ।

राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने

काठमाडौँ, २६ कात्तिक (रासस) ः नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको छ र आपसी सद्भावना र सहयोगमा आधारित सुमधुर ...