संघीय संसद्को बर्खे अधिवेशन आज सुरु हुँदै

संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आज सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज बैठक बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन्। पहिलो अधिवेशन सकिएको झण्डै एक महिनापछि संघीय संसद्को दोस्रो अधिवेशन सुरु हुन लागेको हो। संघीय संसद् सचिवालयले प्रस्ताव गरेको कार्यसूची अनुसार आइतबार अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयबाट प्रेषित पत्र पढेर सुनाइनेछ।

 

यस्तै, अधिवेशन प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरिनेछ। पहिलो बैठकबाट संघीय संसद्का दुवै सदनका नियमावली मस्यौदा समितिको म्याद थप गर्ने सम्भावित कार्यतालिका छ। संसद् अधिवेशन नभएको अवस्थामा सरकारले जारी गरेका विभिन्न चार अध्यादेश पनि पहिलो बैठकमै पेश गरिनेछ। राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रियसभामा पेश हुनेछ।

 

अन्य तीन अध्यादेश आइतबार प्रतिनिधिसभामा पेस हुनेछन्। चिकित्सा शिक्षा अध्यादेश, बेपत्ता पारिएका व्यक्ति र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश तथा संघीय संसद्का महासचिव र सचिवको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभामा पेश हुनेछन्।

 

संवैधानिक व्यवस्थाअनुसार अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित हुनुपर्ने प्रावधान छ। अधिवेशन प्रारम्भ भएसँगै नियमावली मस्यौदाको प्रतिवेदन पारित गरी समिति गठनको प्रक्रिया अगाडि बढ्नेछ। तयारीअनुसार वैशाख २४ को दोस्रो बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्नेगरी कार्यतालिका तय गरिएको छ।

दशकौंसम्म त्रासैत्रासः १०३ वर्षमा बल्ल घरको बास !

२ वैशाख, काठमाडौं । ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ,’ दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा ...