रसुवागढी र सान्जेनको विद्युत् उत्पादनपछि मात्र जिल्लावासीलाई सेयर निष्कासन

0

रसुवामा निर्माणाधीन रसुवागढी र सान्जेन जलविद्युत् आयोजना निर्माणपछि मात्र यी कम्पनीका सेयर निष्कासन गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन्।

रसुवागढी तथा सान्जेन जलविद्युत् आयोजनाले रसुवावासीलाई वितरण गरिने सेयरबारे जानकारी दिन आइतबार जिल्ला समन्वय समिति रसुवाले गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लाका सांसद तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले यस्तो माग गरेका हुन्।

रसुवाका प्रदेश ‘ख’ का सांसद प्रेमबहादुर तामाङले भूकम्पपछि रसुवाली नागरिकको आर्थिक अवस्था कमजोर भएको र तत्काल सेयर खरिद गर्न नसक्ने अवस्था भएकाले आयोजना सम्पन्न भएपछि सेयर निष्कासन गर्र्न आग्रह गरेका छन्।

त्यस्तै, प्रतिनिधिसभाका सांसद मोहन आचार्यले सेयर निष्कासन गर्दा सर्वसाधारणलाई बैंकहरुले ऋण दिने व्यवस्था मिलाउन आग्रह गरे।

उनले भने, ‘भूकम्पले भत्किएका घर निर्माण गर्न नसकेको अवस्थामा अहिले रसुवाका जनता सेयरमा लगानी गर्न सक्दैनन्। त्यसैले उनीहरुलाई ऋणको व्यवस्था गर्नुपर्छ।’

रसुवागढी र सान्जेनले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दा र सर्वसाधारणका लागि आगामी मंसिरसम्ममा सेयर निष्कासन गर्ने तयारी गरेका छन्। तर, छलफलमा पहिले सर्वसाधारण तथा अन्य निकायका लागि छुट्याइएको सेयर बाँडफाँट गरी आयोजनाले उत्पादन सुरु गरिसकेपछि मात्रै स्थानीयलाई १० प्रतिशत सेयर वितरण गर्न सहज हुनेगरी आवश्यक कानुन संशोधन गर्न अर्थ मन्त्रालय मार्फत धितोपत्र बोर्डमा अनुरोध गर्ने निर्णय गरिएको छ।

यसका साथै, सेयर बाँडफाँट सहज बनाउने, गाउँपालिकालाई सेयरधनी प्रमाणपत्र उपलब्ध गराउन कम्पनीलाई अनुरोध गर्ने र साबिकका गाविसहरुले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको संस्थापक सेयर वडागत रुपमा बाँडफाँट गरी गाउँपालिकाको नाममा सेयरधनी प्रमाणपत्र उपलब्ध गराउन अनुरोध गर्ने निर्णय पनि भएको छ।

सर्वसाधारण र अन्य क्षेत्रका लागि छुट्याइएको सेयर निष्कासन प्रक्रिया भने अगाडि बढाउन जनप्रतिनिधिले दुवै आयोजनालाई आग्रह गरेका छन्।

रसुवावासीका लागि रसुवागढी जलविद्युत् कम्पनीले ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता सेयर वितरण गर्नेछ भने सान्जेन जलविद्युत् आयोजनाले ३६ करोड ५० लाख मूल्य बराबरको ३६ लाख ५० हजार कित्ता जारी गर्नेछ।

No comments

प्रधानमन्त्री सरिफमाथि आक्रमण

१८ साउन- पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफमाथि आइतबार राति आक्रमणको प्रयास भएको छ । एउटा शंकास्पद कारले सरिफ चढेको गाडिलाई ठोक्काउने प्रयास गरेको थियो । परिवारको ...