सुन्तलाबारी भित्र होमस्टेसहितको बस्ती

जताततै सुन्तलै–सुन्तला। जता हेरे पनि पहेँलपुर। उठ्दा, बस्दा, सुत्दा पनि सुन्तला ठोकिन्छ। अद्भूत सुन्तला बगैचा। स्वर्गजस्तै सुन्तलाबारी, सुन्तलाघारी। बगैंचा (सुन्तलाबारी, सुन्तलाघारी) घुम्दा, डुल्दा र छिर्दा हामीले सुन्तलालाई होइन, सुन्तलाका दानाले हामीलाई पछ्याईरहेछ। पहेँलपुर सुन्तलाबारीको घारीमा हामी पनि पहेँलै। हाम्रो वस्त्र नै पहेँलै। शरीरै पहेँलै। शरीरभरि सुनले छोपेजस्तो। सुनखानी भान हुन्छ। सुनखानीमा घुमे जस्तै। बगैँचा घुम्न आउने पाहुनालाई घरीघरी झिस्क्याउछन्, सुन्तलाले। कलिलो डालीका काँडाले कोतर्छन, चिर्तछन् । लटरम्म फलेका डालीहरु नुगेका छन्। लाजले होकी, वैंशले त्यो पत्ता लगाउन, अनुभव लिन सुन्तलाबारी होमस्टे खाल्टेमा एक पटक पुग्नैपर्छ ।

क्याप्टेन डिलविक्रम गुरुङ, सुन्तलाबारी होमस्टेका संस्थापक अध्यक्ष हुन्। अहिले पनि उनै छन्, नेतृत्वमा । उनको तीन तले घर छ। घरलाई चारैतिरबाट सुन्तलाका बगैँचाले ढाकिएको छ। आँगनभरि सुन्तला लटरम्म छ। घरमा आउने पाहुनलाई पहेँलपुर सुन्तलाले स्वागत गर्छन्। सुन्तलाको माला, खानमा सुन्तला, अनि जुस पनि सुन्तलाकै। सुन्तलाले उछारपटार पाउदैन। दक्षिण तिर ठुलो सुन्तलाघारी छ। बाहिरबाट हेर्दा सुन्तलाघारी, सुन्तलाबारी तर भित्र जाँदा तीन खम्बे कृषि विधि अपनाएको पाउछौं। अमिलो, कागती, मौसमी, खुर्सानी, अदुवा, बेसार लगायत दर्जनौं फलफूल, बालीनाली छन् । उनले करिब बीस रोपनी खेतबारीमा सुन्तला लगाएका छन् । बगैँचामा करिब सात सय सुन्तलाका बोट छन् । सुन्तलाबाट वार्षिक छ लाख रुपैया कमाउँछन् उनी । उनले, ‘बाटोमा फूलबारी, खेतबारी सुन्तलाघारी अवधारणले होमस्टे स्थापना गरेका हौं ।’ होमस्टेमा आउने पाहुनालाई सुन्तलाको अनुभवसँगै तमु (गुरुङ) समुदायको पराम्परागत संस्कार, संस्कृति, नृत्य, गायनका साथै भाषा र भेष–भुषाको प्रचार–प्रसार गर्नु होमस्टे उद्देश्य रहेको उनले बताए । ‘होमस्टेको वास्तविक पहिचान सुन्तलाको बगैँचा हो,’ उनले भने, ‘गाउँको मौलिक संस्कार, संस्कृति अर्को पाटो ।’ लोपान्मुख अवस्थामा रहेको गुरुङ जातिको विभिन्न परम्परागत साँस्कृतिक झलक पनि सुन्तलाबारीमा देख्न, हेर्न र रमाउन पाइन्छ।

सुन्तलाबारीमा ३२ घर छन् । गुरुङका २९, बाँकी ३ घर बाहुनका । हाल १२ वटा घरहरुमा घरबास गराइन्छ। २० वटा कोठामा ४० जना पाहुनालाई राख्ने क्षमता छ । होमस्टे दक्षिण फर्केको छ। अवेरसम्म घाम लाग्छ।
क्याप्टेन डिलविक्रमलाई सामाजिक र व्यावसायिक रुपमा भाई सुबेदार खेमराज गुरुङको ठूलो सहयोग छ । गाउँको बृहत्तर हितमा दाजुभाई एकसिक्का दुई पाटा हुन् । सामाजिक योद्दा हुन्। गाउँमा घरबास (होमस्टे) परिकल्पनाकार हुन् । उनीहरुको परिकल्पनाबाट सुन्तलाबारी होमस्टेले मुर्त रुप पाएको हो। उनीहरु निःस्वार्थ रुपमा गाउँको विकासका निम्ति अहोरत्र खटिरहेका छन्। राजनीतिक भन्दा धेरै फराकिलो सोँचका साथ। गाउँको विकासलाई उच्च प्राथमिकतामा राखेर लागेका छन्। उनीहरुसँग छ त केवल सामाजिक स्वार्थ मात्र। दाई भन्दा भाईले कृषि व्यवसायलाई अझ व्यवस्थित रुपमा कार्य गर्दै आएका छन् । उनले ६२ रोपनी क्षेत्रफल (खेतबारी दुवै) करिब १३ सय सुन्तलाका बोट लगाएका छन् । उनले २५ लाख बराबरको हाइटेक सुन्तला नर्सरी बनाएका छन् । जहाँ सुन्तला, कागती, अमिलो लगायतका बिरुवा उत्पादन गर्छन् । होमस्टेमा आउने पाहुनाहरुलाई लक्षित गरेर लोकल कुखुरा, माछापालन, भैसी र बाख्रपालन समेत गरेका छन् । तर, वास्तविक कृषकलाई राज्यले नहेरेको उनको गुनासो छ । ‘राज्यको आँखा वास्तविक कृषककोमा पुगेको छैन,’ उनले भने, ‘झोलाको कृषि फर्मलाई मात्र हेर्छन् ।’ कृषि पेशा र व्यवसायमा विचौलियाका कारण धरापमा परेको उनको गुनासो छ । राज्यले वास्तविक कृषकको पहिचान नगरी झोलामा फर्म लिएर हिड्ने कृषकलाई लगानी र अनुदान दिने गरेकाले देशको कृषि पेशा र व्यवसाय अनि कृषकहरु पलायन हुनुपर्ने अवस्था आएको उनको दाबी छ । उनले भने, ‘सरकारले कृषकका बनाएका ऐन–नियम र कार्यविधि कृषकको पक्षमा छैन । निर्माण गर्ने ठाँउमै विचौलियाहरु छन्, जस्ले कृषकको पक्षमा कहिल्यै ऐन–नियम र कार्यविधि बन्दैन ।’

वास्तविक कृषकहरुको पहिचान गर्ने स्थानीय सरकारको भएको उनले बताए । स्थानीय सरकारले वास्तविक तथ्याङ्कहरु संकलन गरेर कृषकको पक्षमा काम गर्नुपर्ने उनले सुझाव दिए । होमस्टे आउने पाहुनाका लागि आफुहरुबाट गर्नुपर्ने काम (अतिथ्य) गरेपनि स्थानीय सरकारले प्रचार–प्रसार, संरक्षण र सम्बद्र्दन ध्यान दिनुपर्ने उनको भनाई छ।

२०६९ मा स्थापना भएको सुन्तलाबारी होमस्टेको सञ्चालन २०७० सालबाट विधिवत रुपमा भएको हो। यो वालिङ नगरपालिका–४ खाल्टेमा पर्छ । समुन्द्र सतहबाट ११८५ मिटर उचाईमा अवस्थित छ । सुन्तलाबारी विशेषगरी सुन्तला उत्पादनको पकड क्षेत्र भएपनि मौसम अनुसारको फलफूल र तरकारी उत्पादन हुन्छ । गाउँलेले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियका विभिन्न खाले पर्यटकहरुलाई चिनाउन कृषि तथा साहसिक पर्यटनलाई विशेष जोड दिएका छन् ।

सुन्तलाबारीमा ३२ घर छन् । गुरुङका २९, बाँकी ३ घर बाहुनका । हाल १२ वटा घरहरुमा घरबास गराइन्छ। २० वटा कोठामा ४० जना पाहुनालाई राख्ने क्षमता छ । होमस्टे दक्षिण फर्केको छ। ढिलोसम्म घाम लाग्छ। उत्तरमा बुढाकोट भ्यू टावर छ । गाडी र हिँडेर जान सकिन्छ । भ्यू टावरबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी हिमश्रृङ्खला एवं पोखरा उपत्यका देखिन्छ । गाउँको पुरै भ्यू हेर्न एलादी डाँडा र बस्यानी क्वाइवो डाँडा पुग्नुपर्छ । जहाँबाट पहेँलपुर सुन्तलाबारी देखिन्छ । गाउँको पूर्व तर्फ मनकामना मन्दिर (गहते) र कान्छी मनकामना (मालगिरी) मन्दिर छन् । क्वाइवो र मन्दिर जान हाइकिङ गर्दा राम्रो हुन्छ ।

सुन्तला बगैँचा घुम्दा सुन्तलाघारीकै बास बसुँ कसलाई नहोला र ! आकर्षक सुन्तलाबारी चलचित्र छायाङ्कन् स्थल, म्यूजिक भिडियो, बृत्तचित्र निर्माणका लागि मुख्य केन्द्रका रुपमा चिनिएका छन् । लोकदोहोरी गायिका शर्मिला गुरुङ, गायक राजु गुरुङ र सुगम संगीतका गायक बिरेन गुरुङको जन्मभूमि हो, सुन्तलाबारी । विभिन्न चलचित्र र म्यूजिक भिडियोहरु छायाङ्कन भैसकेकोछ, सुन्तलाबारीमा ।

खाल्टे रह र बसन्ती रह क्रमशः ३५ मिटर र ५५ मिटर उचाईमा रहेका छन् । दुवै रहको झरनामा छाँगावरोरहण अर्थात क्यानोनिङ गरिन्छ । झर्झर गरीरहेको पानीमा क्यानोनिङ गर्दाको आनन्द अद्भूत हुन्छ । डोरीको सहायतामा अग्ला पहराबाट खस्ने छहराको चिसो पानी खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई छाँगावरोहण (क्यानोनिङ्) भनिन्छ । पर्यटकहरुको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो । होमस्टेमा पहिलो पटक क्यानोनिङ्लाई उच्च प्राथमिकतामा राखी सञ्चालनमा ल्याइएको हो । स्थानीय युवा डेनी गुरुङले साहसिक पर्यटकलाई सुन्तलाबारीमा आकर्षक गर्नका लागि क्यानोनिङ् निर्माण गरेको बताए । ‘सुन्तला खाँदै क्यानोनिङ् गर्ने हो,’ उनले भने, ‘त्यस्तो अनुभव संसारमै विरलै पाइन्छ ।’

स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ युवा पुस्ताका लागि पर्वतीय पर्यटन, आधुनिक पर्यटन र साहसिक गन्तव्यको नयाँ विधाका रुपमा नेपालमा स्थापित भैसकेको छ । प्रायः युवा पुस्ताले खेल्ने भए पनि बालबालिका र बृद्दबृद्दाले यसको दृश्यावलोकनका लागि उत्तिकै उत्साहित हुने गर्छन । होमस्टेमा सञ्चालित क्यानोनिङ्को प्रचारप्रसार गर्न सके होमस्टेबाट धेरै फाइदा लिन सक्नुका साथै यहाँका युवाहरु रोजगारी बन्न सक्ने सम्भावना प्रचुर छ । एउटा डोरीको भरमा छाँगाबाट झर्दा, झरेको सुन्दा र देख्दा कठिन देखिए सुनिएपनि आनन्दको खेल हो ।

होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादन तरकारी, फलपूmल, दुध, दही, मही, भात, ढिँडो, मकै, रोटी र गाउँमै उत्पादित कुखुरा र खसीका मासु खुवाइन्छ । स्थानीय लोक संस्कृति, सालैजो, यानीमाया, झोरा, मारुनी, झ्याउरे, सोरठी र भजन चुटकामा पर्यटकलाई नचाएर मनोरञ्जन प्रदान गर्छन् । पर्यटकको चाहना अनुसार २ वा ३ दिने प्याकेजको व्यवस्था मिलाइएको छ । क्यानोनिङको यातायात शुल्क बाहेक तीन हजार रुपैयाको प्याकेज र होमस्टेमा एक रातको प्याकेज एक हजार रुपैया पर्दछ ।

कसरी पुग्ने
काठमाण्डौं–पोखरा २०० किमि । पोखरा–वालिङ (त्रीयासी) ६७ किमि । त्रीयासीबाट पूर्व ७ किमि खाल्टे । राम्बाच्छा त्रीयासीबाट महेन्द्र बस, जीप जान्छ । बस,जीपमा आधा घण्टा लाग्छ । हिँडेर करिब डेढ घण्टा ।

‘बाटोभरि फूलबारी, खेतबारीभरि सुन्तलाघारी’

क्याप्टेन डिलविक्रम गुरुङ
अध्यक्षः सुन्तलाबारी सामुदायिक होमस्टे

सुन्तलाबारी होमस्टेको परिचय पृथक छ । गाउँभरि ११ हजार सुन्तलाका बोट छन् । कागती, अमिलो, मौसम पनि उत्तिकै छन्, विभिन्न प्रकारका तरकारी पनि । हाम्रो पेसा तिन खम्बे पेसा हो । जसलाई भुगोल पनि साथ दिएको छ । होमस्टेमा आउने पाहुनालाई सुन्तला मात्र होइन, कृषि सम्बन्धि ज्ञान आदानप्रदान गर्नु हाम्रो लक्ष्य हो ।

हामी बाटोभरि फूलबारी र खेतबारीभरि सुन्तलाघारी अवधारणका साथ अगाडी बढिरहेका छौं । सुन्तलाको स्वागत छदैछ, फूल र फूलबारीमा स्वागत पनि । होमस्टेमा आउने पाहुना कोही अध्ययनका लागि त कोही मनोरञ्जनका लागि आउँछन् । फूलबारी र सुन्तलाबारी घुम्न पाउँदा उनीहरुले आनन्द मान्छन्, लिन्छन् । कोदोको ढिँडो, मकैको आँटो, गुन्द्रुक, साग, सिमी, लोकल कुखुराको मासु, खसीको मासु हाम्रो परिकार हो । गुरुङ समुदायको मौलिक संस्कृति र साँस्कृतिक कार्यक्रमले पाहुनालाई मन लोभ्याउने हाम्रो प्रयास हुनेछ । एकचोटी होमस्टे आएका पाहुना दोस्रो र तेस्रो पटक पनि आउने वातावरण हामीसँग छ ।

काठमाण्डौमा खिचिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज

काठमाण्डौँको बिभिन्न स्थानहरुमा छायाँकन गरिएको हलिउड चलचित्र ‘एक्सा’ रिलिज भएको छ । काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालको समेत अभिनय रहेको चलचित्रमा हलिउडकी ...