भूमि समस्या समाधानको लागि बृहत अन्तक्र्रिया कार्यक्रम

0

कालिकास्थान २०७६ जेठ ३, रसुवा
जिल्ला भूमि अधिकार मञ्च, जिल्ला समन्वय समिति र कालिका गाउँपालिका रसुवाको संयुक्त आयोजनामा रसुवा जिल्लामा रहेको भूमि सम्बन्धि समस्या समाधानबारे बृहत अन्तक्र्रिया भयो । कालिका गाउँपालिका वडा नं. २ स्थित कालिकास्थानमा रहेको कालिका हिमालय कम्याम्पसको प्राङ्गगणमा जिल्लाका प्रमुख सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधिहरू र भूमिको समस्याबाट प्रभावित भएका परिवारका प्रतिनिधिहरूबीच भेला भई अन्तक्र्रिया कार्यक्रम गरिएको हो । जेठ ३ अर्थात १७ मे २०१९ का दिन आयोजना गरिएको कार्यक्रममा करिव ६०० जना सहभागी भएका थिए ।


कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मा. पद्मा कुमारी अर्याल प्रमुख अतिथिको रुपमा रसुवा आउनुभएको थियो । यस्तै विशेष अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको सचेतक मा. शान्ता चौधरी, संविधान सभा सदस्य जनार्दन ढकाल र टेकु नेपाली, अतिथिका रुपमा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका पूर्व अध्यक्ष सोमप्रसाद भण्डारी, रसुवा जिल्लाका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्षहरू, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत सरकारी कार्यालय प्रमुख र प्रतिनिधि सहभागी हुनुभएको थियो ।
कार्यक्रममा रसुवा जिल्लामा विद्यमान रहेको बिर्ता समस्या, गुठी समस्या, भूमिहीन सुकुमबासी समस्या, सडकको कारण पीडित बनेका परिवार र भूकम्पको कारण समस्यामा परेका परिवारको सवालको विषय समेटी तयार गरिएको माग पत्र जिल्ला भूमि अधिकार मञ्च, जिल्ला समन्वय समिति र कालिका गाउँपालिकाको प्रमुखको संयुक्त हस्ताक्षरमा संयुक्त रुपमा माननीय मन्त्रीलाई पेश गरियो । माग पत्रमा भूमि सम्बन्धि समस्याको स्थायी समाधान खोजी यस्ता समस्या भोगिरहेका नागरिकलाई यथासक्य सहयोग गर्न माग राखिएको छ ।


नेपालमा साठी वर्ष पहिले उन्मुलन भएको बिर्ता प्रथा रसुवामा अझै जीवितै छ । ३० पुस्ताभन्दा पहिलेदेखि जोतभोग गर्दै आएको जग्गा गुठीको नाममा छ, किसानहरू समस्यामा छन् । २०३९ सालबाट सुरु भएको पासाङल्यामु सडकबाट पीडित भएका परिवारले राहत पाउन सकेका छैनन्, सडकको नक्साङ्कनसमेत नहुँदा सडक आसपासका जग्गा रोक्का छ, भूमिहीन र सुकुमबासी परिवारको समस्या नाजुक छ । भूकम्प गएको ४ वर्ष भइसक्यो, अझै पनि केही परिवार छुटमा परिरहेका छन् भने केही परिवारले आफ्नो स्वामित्वमा जग्गा नभएको कारण अनुदान पाउन नसकेको समस्याहरू ज्यूँका त्यूँ छन् । यी र यस्तै समस्याको तत्काल समाधान खोजी स्थायी समाधान दिनको लागि कार्यक्रमका सहभागी सबै सरोकारवाला तथा समस्याबाट प्रभावित भएका परिवारले माग राखेका छन् ।
कार्यक्रममा सहभागी हुँदै माननीय मन्त्री पद्मा कुमारी अर्यालले रसुवा जिल्लामा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्नको लागि एकीकृत कानुन तर्जुमा गरी प्रक्रिया अघि बढाउनको लागि पहल लिने बताउनुभयो । उहाँले भन्नुभयो, अहिले भूमि सम्बन्धि ऐनको आठौं संशोधनको प्रक्रियामा रहेको हुँदा यहाँको समस्या समाधान हुने गरी प्रक्रिया अघि बढाउनको लागि पनि पहल लिनेछु । साथै, रसुवामा रहेको बिर्ता समस्या लालपुर्जा बनाई लगिसकिएको हुँदा प्रक्रिया जटिल भएपनि किसानको पक्षमा न्याय हुने गरी कानुनी रुपमा समस्याको हल खोजीने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, भूमि समस्या जटिल छ, पुरानो संरचनाअनुसार काम गर्नुपर्ने बाध्यताहरू छन्, यसैले हरेक मालपोत कार्यालय र नापी कार्यालयमा नयाँ र प्रविधियुक्त कार्य विस्तार गर्दै भूमिको एकीन तथ्याङ्क लिन पुनः नापी गर्ने र जति पनि भूमिसम्बन्धि समस्याहरू छन्, तिनको निराकरणको लागि एउटै खाले कानुन बनाएर अघि बढ्न मन्त्रालयले प्रक्रिया अघि बढ्ने योजना छ ।
कार्यक्रममा सहभागी हुँदै, नेकपा संसदीय दलको सचेतक मा.शान्ता चौधरीले भन्नुभयो, म आफू पनि भूमि अधिकार अभियानकै पृष्ठभूमिले अघि बढेकी हुँ, मैले हरेक दिन सार्वजनिक कार्यक्रम तथा बोल्ने ठाउँहरूमा भूमि सुधारको विषय जोडतोडले उठाइरहेको छु, यो समस्या समाधान नभएसम्म म निरन्तर माग राखि
रहनेछु । उहाँले भन्नुभयो, देशमा भूमि सुधार भए मात्र भूमिसँग जोडिएका सबै खाले समस्या समाधान हुन्छ र समृद्ध नेपाल निर्माणमा मद्दत पुग्छ, त्यसैले यस विषयमा आवाज उठाउन आवश्यक छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुँदै संविधान सभाका सदस्य जनार्दन ढकालले भूमि अधिकार मञ्चले उठाएको मागहरू नागरिकको आधारभूत अधिकारसँग सम्बन्धित भएको हुँदा यस विषयमा राज्यको निकायले अति नै संवेदनशिल रुपमा लिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, मैले चुनाव जितेपछि भूमि अधिकार मञ्चसँग सहकार्य गरेर भूमि समस्यामा रहेका परिवारलाई लालपुर्जा दिलाउने काममा पनि सहजीकरण गरेको थिएँ । अहिले पनि धेरै पटक डेलिगेसनको रुपमा दर्जनौं पटक मन्त्रालयमा धाएको पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, रसुवामा रहेको बिर्ता समस्या अझ जटिल प्रकृतिको भएको र लामो समयदेखि थाति रहेको हँुदा मा.मन्त्रीज्यूले यही कार्यकालमा समस्या समाधानको लागि पहल गरिदिनुपर्छ । नत्र भने किसानमाथि अन्याय हुन्छ ।


कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका पूर्व अध्यक्ष सोमप्रसाद भण्डारीले अहिलेको सरकारले पनि भूमि सुधारको मुद्दा कार्यान्वयन गर्न नसके किसानहरूको समस्या समाधान नहुने बताउनुभयो । उहाँले भन्नुभयो, यो सरकारबाट पनि हामीले आशा गरेजति उपलब्धी भएको छैन, यतिका समय भइसक्दा पनि भूमि सुधारको प्रक्रिया पनि थालनी नहुनु दुःख लाग्दो विषय हो, त्यसैले मन्त्रीज्यूले यो विषयलाई गम्भीर लिइदिनु हुन अनुरोध गर्दछु ।
कार्यक्रममा बोल्नु हुँदै जिल्ला समन्वय समितिका सदस्य एवम् जिल्ला भूमि अधिकार मञ्चकी पूर्व अध्यक्ष चित्रकुमारी न्यौपानेले बिर्ता समस्याले धेरै दुःख दिइरहेको हुँदा यसको दीर्घकालिन समाधान खोजिदिई किसानलाई न्याय दिलाइदिनु हुन माननीय मन्त्रीज्यूसमक्ष अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, हामीले आफ्नो जग्गाको अधिकार लिनको लागि कति समय सङ्घर्ष गर्नुपर्ने हो ?
कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल, उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफूहरूले बिर्ता जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाउने गाउँपालिका कार्यालयबाटै निर्णय गरिसकेको हुँदा यस्तो कार्यको लागि भूमि व्यवस्था मन्त्रालय पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँहरूले पालिकामार्फत गरिएको घोषणा र निर्णयको व्यहोरा पनि सुनाउँदै भूमि सम्बन्धि बाँकी समस्या समाधानको लागि मन्त्रालयले पालिकालाई जिम्मेवारी दिने हो भने केही महिनाभित्रै सबै समस्या समाधान गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी हुँदै जिल्ला भूमि अधिकार मञ्च, नुवाकोटका पूर्व अध्यक्ष एवम् तारकेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष चुडामणिप्रसाद गजुरेलले भन्नुभयो, बिर्ता र गुठी समस्याले नुवाकोटबासी पनि धेरै प्रभावित भएको हुँदा मन्त्रालयमार्फत यस्तो भूमि समस्या समाधानको लागि पहल लिइ किसानलाई न्याय दिनहोस् ।
कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्च, रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले तयार गरिएको मात्र पत्र बाचन गरी सहभागीलाई सुनाउनुभई, भूमि अधिकार मञ्चले जिल्लामा गरिरहेको अभियानको विषयमा पनि आदान–प्रदान गर्नुभयो ।
कार्यक्रमको अन्तमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले सबै सहभागीलाई धेरै धन्यवाद् दिँदै भन्नुभयो, अहिले नेकपाको दुई तिहाइको सरकार छ, यस्तो शक्तिशाली समयमा पनि जनताले समस्या भोगिरहनुपर्नु सुहाउँदो विषय होइन, यसैले मन्त्रीज्यूले रसुवाको समस्या समाधानको विकल्प दिनुहोस्, स्थानीय सरकारको हिसावमा हामी हरेक जिम्मेवारी पुरा गर्न तयार छौं ।
कार्यक्रममा भूमि अधिकार मञ्चका सदस्य तथा किसानहरुले कृषि औजार, हजो जुवा, कुटो कोदोलो, प्ले कार्डसहित सहभागी भएका थिए । कार्यक्रममा सहभागी किसानहरुले आफूहरुले वर्षाैदेखि भोग्दै आएको समस्या, यसको असर र दैनिक जीवनमा परिरहेका असरको विषयमा मन्त्रीसमक्ष प्रत्यक्ष अन्तक्र्रिया गरेका
थिए ।

No comments

४० ठाउँबाट जुलुस, रत्नपार्कदेखि ओलीले नेतृत्व सम्हाल्ने

२२ पुस, काठमाडौं । नेकपा एमालेको नेतृत्वमा ९ दलीय गठबन्धनले आयोजना गरेको आजको विरोधसभाका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ । यसको कारण ...