छोरी नपढाउने तर धेरै पढेकी बुहारी खोज्ने !

वैशाख ५ – शीर्षकमा प्रस्तुत पङ्क्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिनाअघि भारतको हरियाणा राज्यमा व्यक्त गर्नुभएको हो । हरियाणाको पानीपतमा गत जनवरी १५ मा आयोजित एक विशेष समारोहमा उहाँले भन्नुभयो– हामी आफ्ना छोरी पढाउन खोज्दैनौँ तर हामीलाई धेरै पढेलेखेकी बुहारी चाहिन्छ ।

buhari-2

यो कसरी सम्भव होला त ? उहाँले सभालाई सम्बोधन गर्दै भन्नुभयो– ‘जसले आफ्नी छोरी, बहिनी पढाउँदैन उसलाई पढेलेखेकी बुहारी खोज्दै हिँड्ने अधिकार पनि छैन । नारीले शिक्षित हुने अवसर नपाएपछि उच्च शिक्षामा उनीहरू पुग्न कसरी सम्भव छ ? प्रश्नै प्रश्न थिए उहाँको त्यो सम्बोधनमा ।

कार्यक्रमको नाम थियो ‘बेटी बचाओ, बेटी पढाओ’ (छोरी बचाआँै, छोरी पढाऔँ) । भारतको केन्द्र र हरियाणा राज्य सरकारद्वारा आयोजित कार्यक्रम थियो त्यो । केही महिनाअघि सत्तामा आएको मोदी सरकारले यो नयाँ कार्यक्रम सुरु गरेको होे । भारतमा व्याप्त छोरीको भ्रूणहत्या र शिक्षालगायतका धेरै क्षेत्रमा छोरीमाथि गरिने विभेद अन्त्यका लागि सरकारले यो नयाँ अभियानको थालनी गरेको हो ।

भारतका कतिपय राज्यमा अहिले पनि छोरा र छोरीमा निकै ठूलो विभेद हुने गरेको छ । शिक्षा दिने क्रममा छोरा र छोरीमा अन्तर हुने गरेको छ भने त्यो भन्दा अर्को अकल्पनीय कार्य भइरहेको छ भ्रूणहत्याको । आमाको गर्भभित्रै भू्रणको लिङ्ग पहिचान गर्ने र छोरी भएमा गर्भमै हत्या गर्ने जस्ता जघन्य अपराधले यतिखेर थाहा नपाउनेगरि वैधानिकता प्राप्त गरिरहेको छ ।

यसरी भारतीय समाजमा अहिले पनि छोराको बढ्दो चाहनाले दिनप्रतिदिन छोरीहरू गर्भमै मारिइरहेका छन् । खुलारूपमा यो कार्यले मान्यता नपाए पनि भारतका जस्तोसुकै अस्पताल क्लिनिकमा गर्भमै लिङ्ग पहिचान गर्ने प्रविधि सहजै उपलब्ध हुनु र त्यसका लागि बुबा मात्र नभई आमा झन् बढी तयार हुनुले छोरीहरू कम जन्मिन थालेपछि भारत सरकारले यो नयाँ कार्यक्रम थालनी गरेको छ । सरकारले यस अभियानका लागि भारतीय चलचित्र क्षेत्रकी एक बहुचर्चित नायिका माधुरी दीक्षितलाई सद्भावना दूतका रूपमा मनोनयन गरेको छ ।

प्रधानमन्त्री मोदीले त्यस कार्यक्रममा यसरी बालिकाको भ्रूणहत्या गर्न तयार भइरहेका चिकित्सकलाई व्यङ्ग्य गर्दै भन्नुभयो– यसरी भ्रूणहत्या गरेर पैसा कमाउने गरेका चिकित्सकले सोचुन् यसरी कमाएको पैसाले उनीहरूलाई सन्तुष्टि र धन दिएको छ कि छैन ? उहाँको थप भनाई थियो– चिकित्सकले पढ्ने त नागरिकको ज्यान बचाउनका लागि पो हो त, मानिस मार्नलाई हो र ?

यस अवस्थाका कारण अहिले नै भारतमा लैङ्गिक असन्तुलन देखिइसकेको छ । सन् २०११ मा लिइएको पछिल्लो जनगणनाअनुसार भारतका ६ वर्ष मुनिका बालबालिकाको सङ्ख्यामध्ये प्रति एक हजार बालकमा ९१४ मात्र बालिकाको सङ्ख्या पुगेको छ । अझ त्यसयताका वर्षमा बालिकाको सङ्ख्या झनै घट्दो अवस्थामा पुगेको बताइन्छ । यो सङ्ख्या यसअघिका वर्षका तुलनामा झनै घट्दो अवस्थामा देखिएको छ ।

सन् २००१ मा प्रति हजार बालकको औषतमा ९२७ जना बालिका जन्मिन्थे । तर अब त झनै कम जन्मिन थाले भन्छन् भारतका जनसङ्ख्याविद्हरू । तथ्याङ्कअनुसार यसअघि अर्थात् सन् २००१ मा यो सङ्ख्यामा यति धेरै फरक देखिएको थिएन । भारतका योजनाविद्हरू यस अवस्थालाई भारतको स्वतन्त्रतापछि सबैभन्दा विस्फोटक लैङ्गिक असन्तुलन हो भन्छन् । उनीहरू यदि यही अवस्था कायम रहेमा अवका बढीमा दुई दशकपछि नै भारतमा केटीका लागि केटाहरूको ठूलो झगडा पर्ने निश्चित् छ भन्छन् । सन् २०११ को जनगणनाअनुसार भारतमा पुरुषभन्दा महिलाको जनसङ्ख्या करिब ६ करोड कम रहेको थियो । त्यो अनुपात घट्दै जाने देखिन्छ ।

भारतका निवर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंह गत वर्ष संसद्लाई सम्बोधन गर्ने क्रममा रुनु भएको थियो । उहाँले भन्नुभएको थियो – २१ औँ शताब्दीका हामी आधुनिक भारतीयहरू अहिले पनि विज्ञानको विकासको दुरूपयोग गरेर गर्भभित्रै जानाजान छोरीको हत्या गरिरहेका छौँ, योभन्दा दुःखद घटना हाम्रा लागि अरु केही पनि छैन । उहाँले त्यसबखत भन्नुभएको थियो – पशुले त आफ्ना सन्तानलाई बराबर देख्छ, तर हामी विवेकशील प्राणी भएर छोरा र छोरीमै विभेद गरिरहेका छौँ ।

भारतमा बर्सेनि कति भ्रूणहत्या भइरहेको छ भन्ने कुराको यकिन तथ्याङ्क छैन । तर यस क्षेत्रका जानकारहरूको पछिल्लो तथ्याङ्कअनुसार बर्सेनि कम्तीमा ५ देखि ७ लाख बालिकाको भ्रूणहत्या भइरहेको छ । यो कार्य खुला छैन अथवा खुलमखुला अस्पतालले बोर्ड राखेका छैनन् । तर पनि अधिकांश अस्पतालमा भ्रूणहत्याको काम सहज र सस्तो रहेको बताइन्छ ।

मोदी सरकारले यो कार्यक्रम भारतका १२ जिल्लामा केन्द्रित गरी सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत सद्भावना दूतका रूपमा नियुक्त माधुरी विभेद नगर्न चेतना जागृत गर्ने काम गर्नेछिन् । त्यस्तै सरकारले ती जिल्लाका गरिब परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ । पहिलो चरणमा छनोट गरिएको १२ जिल्लामा हरियाणा राज्यका बढी छन् । ती जिल्ला रेवारी, महेन्द्रनगर, भिवानी, झाजर, अम्बला, कुरुक्षेत्र, सानेपातलगायतका छन् ।

ती जिल्लाका अति गरिब परिवारमा जन्मिने बालिकाका साथै १० वर्षमुनिका बालिकाका नाममा ‘सुकन्या समृद्धि एकाउन्ट’ नामको खाता बैङ्कमा खोली त्यसमा सरकारले बढीमा डेढ लाख रूपैयाँसम्म रकम राखिदिने छ । यस्तो खातामा रहेको रकमका लागि कम्तीमा पनि नौ प्रतिशत ब्याज दिने र त्यस ब्याजमा कुनै पनि आयकर तिर्नु नपर्ने सुविधा सरकारले दिएको छ । यस्तो खाता कुनै पनि वाणिज्य बैङ्कका शाखामा खोल्न पाइनेछ ।

यस्तो खाता २१ वर्षसम्म बन्दगर्न नपाइने र ती बालिकाले १८ वर्षपघि उच्च शिक्षाका लागि आफ्नो खर्च स्वरूप रकम झिक्नुपर्ने भएमा ५० प्रतिशतसम्म मात्र रकम झिक्न पाउने व्यवस्था गरिएको छ । सरकारी आधिकारीहरूले बालिकाका लागि ल्याइएको यस्तो योजनाले भारतमा बालिका शिक्षामा सहयोग पुग्नुका साथै परिवारमा छोराप्रतिको दृष्टिकोणमा परिवर्तन हुने अपेक्षा गरेका छन् ।

पछिल्लो समयमा भारतमा बढ्दो जनसाङ्ख्यिक असन्तुलनका कारण जनसङ्ख्या एवम् योजनाविद्बीच यसको निराकरणका लागि चर्चा सुरु भएका छन् । सानो अथवा सामान्य मेसिनले केही मिनेटभित्रै भू्रणको लिङ्ग पहिचान गर्ने र ५०० देखि एक हजार रूपैयाँसम्ममा नै भ्रूणहत्या गर्न सकिने सहजताका कारण भारतमा प्रतिदिन छोरीहरू गर्भमै मारिने गरेका छन् । यो अवस्थालाई नरोक्ने हो भने भोलि भारतमा विवाहका लागि नै युवती पाउन निकै गाह्रो पर्ने देखिन्छ ।

रासस

प्रचण्डपुत्र प्रकाशको निधन

काठमाण्ठौ मंसिर ३, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा र्पुयाइएका ...