११ असोज- एमाओवादी परित्याग गरेको तीन दिनपछि काठमाडौं र मधेसको दुरी घटाउन भन्दै डा। बाबुराम भट्टराई जनकपुर पुगेका छन् ।
तर, भट्टराईको झण्डै चार घण्टाको जनकपुर बसाइ निकै तनावपूर्ण रहृयो । उनले संविधान निर्माणको महत्वपूर्ण समितिको सभापतिको जिम्मेवारी लिएर पनि मधेसलाई अधिकार दिलाउन नसकेको भन्दै माफी मागे । तर, बाबुरामले नयाँ संविधान जलाउनु पर्ने भन्दै आन्दोलनकारीले मञ्च जलाइदिएका छन् ।एमाओवादीको नेता रुवमा भट्टराई जनकपुर जान लाग्दा मधेसी मोर्चाले प्रवेश निषेधको घोषणा गरेको थियो । यो बीचमा भट्टराईले एमाओवादी र संसद सदस्य परित्याग गरे र फेरि जनकपुर जाने निर्णय लिए ।
मधेसी मोर्चाको विरोधका बीच भट्टराईले जनकपुर जाने निर्णय गरे । भट्टराई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा मधेसी मोर्चा र एमाओवादीका असन्तुष्ट मधेसी नेताहरुबीच बाबुरामको उपस्थितिमा संविधानको ‘मधेस विरोधी’ धाराहरु जलाउने सहमति भयो ।तर, नयाँ संविधानको प्रति जलाउने कुरामा बाबुरामले सहमति जनाएनन् । उनी जनकपुर विमानस्थलमा पुग्दा केही युवाहरुले विरोध जनाए । तर, यात्री निवासमा पुग्दा पूर्वमन्त्री जेपी गुप्ता उनलाई स्वागत गर्न आइपुगे ।
मधेसी मोर्चामा आवद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावनाले संविधान जलाउने अडान लिएपछि बाबुराम गोपाल धर्मशालामा राखिएको सभा छोडेर हिँडे । उनी काठमाडौं विमानस्थल पुग्ने बेला संविधान नजलाउने सहमति भएको खबर आयो र डा। बाबुराम फर्किएर धर्मशाला पुगे ।सभालाई सम्बोधन गर्ने क्रममा मधेस र थारुको माग पूरा भएपछि मात्र संविधानले पूर्णता पाउने बताए। संविधानसभाको सम्वाद समितिका सभापति समेत रहेका भट्टराईले महत्वपूर्ण जिम्मेवारीमा रहेर पनि मधेसलाई अधिकार दिलाउन नसकेको भन्दै माफी मागेका छन् ।
