२० असोज-कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजदेखि सुरु हुने बैठकमा महाधिवेसनको मिति अनुमोदन गरिनेछ । बैठक सरकार गठनमा केन्द्रित हुनेछ ।
केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी भित्रैबाट प्रधानमन्त्रीको उम्मेदवारी बनाउने विषयमा छलफल हुने भएको छ । चार दलसँगको ‘भद्र सहमति’ कार्यान्वयन गर्न दबाब परिरहेका बेला कांग्रेसले एमाले अध्यक्ष केपी ओलीको विकल्प पार्टीभित्रैबाट खोज्नुपर्ने तयारी गरेको छ । डेढ वर्षअघि सरकार बनाउँदा भएको सात बुँदेमा पनि संविधान जारीपछि एमालेलाई प्रधानमन्त्रीमा सघाउने सहमति भएको थियो । पार्टीबाटै प्रधानमन्त्रीको उम्मेदवार दिनुपर्छ भन्नेमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष जोडतोडले लागेको छ । देउवा पक्षीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यसमितिबाटै ओलीको विकल्पका लागि उम्मेदवार तय गर्न जोड दिने भएका छन् । संस्थापन पक्षभित्रै उपसभापति रामचन्द्र पौडेलसमेत प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने कसरतमा लाग्नु भएको छ ।
कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले आजको बैठकमा यसअघि भएको भनिएको सहमति र अबका संभावनाका विषयमा गहिरो गरि छलफल हुने बताउनुभयो । उहाँले महाधिवेसन फागुनमा गर्ने पदाधिकारीको निर्णय अनुमोदन हुने बताउनुभयो ।
