२७ पुस-नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधीनता जोगाउन सबै वामपन्थी दल एक हुनुपर्ने बताएका छन् ।
भक्तबहादुर श्रेष्ठको चौँथो स्मृति दिवसको अवसरमा भक्तबहादुर स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको विचार गोष्ठीमा उनले गणतन्त्रलाई संस्थागत गर्दै राष्ट्रलाई बचाउन वामपन्थी दलहरु छुट्टिएर नभई एकबद्ध भएर लड्नुपर्ने आवश्यकता औँल्याए ।उनले भने, ‘देशमा अझै उत्पीडनको समस्या छ । त्यसतर्फ काम गर्न बाँकी छ, यो समस्याको अन्त्य गर्न सम्पूर्ण वामपन्थी एकताको खाँचो छ ।’ उनले भक्तबहादुर श्रेष्ठ दूरदर्शी वामपन्थी नेता भएको स्मरण गर्दै देशबाट उत्पीडनको अन्त्य गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने बताए ।
प्रतिष्ठानका अध्यक्ष सिपी गजुरेलले अहिलेको स्थिति जटिल भएको भारतले मधेस आन्दोलनलाई समर्थन गर्न नाकाबन्दी नगरी नेपालमाथि दमन गर्न गरेको आरोप लगाए ।अर्का वक्ता लालुबाबु यादवले जातिगत विवादमा अल्झिएर राष्ट्रिय स्वाधीनता धरापमा पार्न नहुने धारणा राखे । उनले अहिलेको प्रमुख एजेन्डा राष्ट्रलाई बचाउनु भएको बताउँदैँ उहाँले यो मधेसी वा पहाडिया भनी लड्ने समय नभएको विचार राखे ।