जेठ २४, नुवाकोट । भूकम्पपछि नुवाकोटको दुर्गम गाउँमा व्यक्तिगत प्रयासमा पहिलोपटक जिल्लाकै उत्कृष्ट नमूना विद्यालयको निर्माण भएको छ । एक वर्षअघि भूकम्पले ध्वस्त सबै प्रकारका संरचनाको पुनः निर्माण हुने क्रम चलिरहेका बेला कुमरी–५ को नेपानेमा रहेको विकास निम्न माध्यामिक विद्यालयको सबै पूर्वाधारसहितको सुविधासम्पन्न भवन निर्माण भएको हो ।
कुमरीका स्थानिय समाजसेवी जगत लामाको व्यक्तिगत पहलमा एक करोड ५ लाख रुपैयाँको लागतमा डेढ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सौचालय, खानेपानी धारा, पुस्तकालय, कम्प्यूटर कक्षा सहितको १० कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । सम्पूर्ण नयाँ पूर्वाधारसहितको विद्यालयको भव्य भवन नुवाकोट जिल्लाकै पहिलोपटक बनेको यो विद्यालय आकर्षक मात्रै छैन, नमुना नै बनेको छ । ट्रेकिङ फर किड्स वासिङ्टन डिसी र हेल्थ एण्ड इडी फोर नेपाल कोलोराडो दुई दातृ संस्थासँगको सहकार्यमा समाजसेवी लामा अध्यक्ष रहेको संस्था नेपालका लागि शिक्षा र स्वास्थ्य (हेल्थ एण्ड एजुकेशन फर नेपाल) ले उक्त विद्यालय भवन निर्माण गरेको हो । नवनिर्मित अत्याधुनिक विद्यालय भवनको अभिभावक, विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागितामा राष्ट्रिय योजना आयोगका सदस्य डा.चन्द्रकान्त पौडेलले उद्घाटन गरे । दुई दशक लामो समयसम्म सोही गाउँमा रहेर शिक्षण पेशामार्फत् शिक्षाको विकासमा योगदान पु¥याएका डा.पौडेलले जगत लामाजस्तो समाजसेवीको शिक्षा क्षेत्रमा गरेको मेहनतको चर्चा गर्दै उनले भने, ‘हिजो आफूले पढाएको विद्यार्थीले शिक्षाको लागि मैले कल्पनासम्म पनि नगरेको सामाजिक काम गरेको देख्दा आज म आफैँ लज्जित छु र गर्व पनि गर्दैछु ।’ अहिले म धेरै वर्षपछि गाउँ फर्किँदा देख्न पाएँ, यहाँको शैक्षिक जागरण र गुणस्तरिय शिक्षाको विकासले छलाङ मारिसकेछ ।’ केही दिनअघि भएको विद्यालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा डा. पौडेलसँगै कुमरी पुगेका नेपालका चर्चित पप तथा आधुनिक गायक कमल रेग्मी, गायिकाहरु गिता रेउले, शुसिला गौतम लगायतका अन्य कलाकारहरुले गित संगित र अभिनयमार्फत् शिक्षाको विकासमा सबैलाई जागरुक बनाउने प्रयास गरे ।
निम्न स्तरका तामाङ समुदायमात्रको वसोवास भएको दुर्गम वस्ती नेपानेमा सञ्चालित सो विद्यालय २०४५ सालमा स्थापना भएको थियो । शिक्षक दरबन्दी, पुस्तकालय, सौचालय, खानेपानी र विषेशगरी विद्यालय भवनजस्ता भौतिक पुर्वाधार एवं संरचनाको अभाव भोग्दै आइरहेका विद्यार्थीहरुले अहिले खुसीसाथ अध्ययन गर्न पाएका छन् । बालबालिकाहरुले जाडो, गर्मी, झरी र हावाहुरीजस्ता समस्या विगतमा झेल्दै आएका थिए । एक वर्षअघिको भूकम्पले जगैदेखि ढलेर माटोमा मिलेपछि पठनपाठन नै ठप्पझैँ बनेको विद्यालयको पुरै संरचना फेरेर नयाँ बनाइएको छ । अहिले यहाँ ३ सय ७८ जना विद्यार्थीहरु अध्ययनरत छन् विद्यालयमा आधुनिक पुस्तकालय, कम्प्यूटर ल्याब र ८ वटा सुविधासम्पन्न कक्षाकोठासहित विद्यालयको आधुनिक गेट, फराकिलो खेलकुद मैदान, ५ वटा खानेपानीका धारा, छात्र तथा छात्राहरुलाई बेग्लाबेग्लै गरी दुईवटा सुविधायुक्त सौचालय बनेका छन् । विद्यालयलाई ट्रेकिङ फर किड्स, वासिङ्टन डिसीले ४५ हजार र हेल्थ एण्ड इडी फोर नेपाल, कोलोराडोले ६० हजार अमेरिकन डलर सहयोग पु¥याएको संस्थाका शंकर खड्काले सार्वजनिक गर्नुभएको आयव्यय विवरणमा उल्लेख छ ।
यसै विद्यालयका पूर्वप्रद्यानाध्यापक सम्भु पनेरुले विगतको तुलनामा अहिले विद्यालयले काँचुली फेरेकोमा खुसी व्यक्त गर्छन् । ‘दुर्गम गाउँमा सुरक्षित भवन र राम्रो वातावरणमा हाम्रा बालबालिकाले गुणस्तरिय शिक्षा पाएका छन् ।’ पुर्व विद्यार्थी नेता एवं अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य केशव पुडासैनीले दुर्गम वस्तीमा सरकारले पनि गर्न नसकेको शैक्षिक क्रान्ति एक्लो व्यक्तिबाट सम्भव भएकोमा दातृ संस्था र जगतको उचित मुल्यांकन राज्यले गर्नुपर्नेमा जोड दिए । विद्यालयको विकासमा योगदान पु¥याएकोमा नेपालका लागि शिक्षा र स्वास्थ्य संस्थाका अध्यक्ष जगत लामा, उपाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष चेतन लामा, सदस्य एवं पत्रकार रमेश आचार्य, लगायतलाई सम्मान गरिएको थियो ।
अहिले नवनिर्मित विद्यालयबाटै अक्षर सिकेका जगत लामालाई जिल्लामै सम्भवतः पहिलो सुविधायुक्त विद्यालय भवन बनाउने अवसर विनासकारी भूकम्पले जुराइदिएको उनी बताउँछन् । लक्ष्मेश्वरी उच्च माविका प्रद्यानाध्यापक अर्जुन पुडासैनी, विरेन्द्र उच्च माविका प्रद्यानाध्यापक विश्वनाथ न्यौपाने, किसान नेता केदार पुडासैनी लगायतका अन्य शिक्षाविद्हरुले विद्यालय निर्माणले यहाँ सबैभन्दा बढी नेपानेका अभिभावक र विषेशगरी विद्यार्थीहरु नै खुसी रहेकोले समाजसेवी लामाको प्रशंसा गरे । आवश्यक सबै पुर्वाधार र खेलकुद मैदानदेखि कम्प्यूटर शिक्षा, पुस्तकालयजस्ता सुविधाको उपलब्धताले उनीहरुमा नयाँ उर्जा अनि उत्साह मात्रै थपिएको छैन, यसको प्रभावले पठनपाठनको गुणस्तर नै बदलिएको विद्यालयको दाबी छ ।


