‘नाइँ नभन्नु ल’ को नवौं सिरिजसम्म बनाउँछुः विकास आचार्य

विकास आचार्य सफल निर्देशकका रुपमा चिनिन्छन् । ‘नाइँ नभन्नु ल’ सिरिजमा चार चलचित्र बनाइसकेका आचार्य अहिले नयाँ फिल्म ‘निरञ्जना’ को तयारीमा छन् । ‘नाइँ नभन्नु ल’ नवौं सिरिजसम्म बनाउने तयारीमा रहेका आचार्यलाई पाँच आरोपः

१. दीपकराज गिरीले तपाईंलाई निर्देशकमा आबद्ध गर्नुअघि नै ‘नाइँ नभन्नु ल’ नाम राख्न पाइँदैन भन्नुभो भन्ने चर्चा छ नि !
– होइन, मैले ‘निरञ्जना’ भन्ने कथा पहिल्यै लेखेको थिएँ । बीचमा सहकार्य गर्ने कुरा भयो । मैले दीपक र दीपालाई कथा देखाउँदा उहाँहरुले मन पराएपछि चलचित्र बनाउने कुरा भयो । ‘नाइँ नभन्नु ल’ राख्ने वा नराख्ने विषयमा केही कुरै भएको छैन ।

२. ‘नाइँ नभन्नु ल’ सिरिजलाई व्यापक तन्काएर बेच्नुभयो भन्ने आरोपबारे के भन्नुहुन्छ ?
– कसरी व्यापक हुनु ! भर्खर चार वटा बनेको छ । म त नवौंसम्म बनाउने विचारमा छु । जबसम्म दर्शकले मन पराउँछन्, तबसम्म चलचित्र बनाउने हो । नवौं सिरिजसम्म जाने कन्सेप्ट बनाइसकेको छु ।

३. बाल संवेदनालाई पनि निकै बेच्नुभयो भन्छन् !
– मेरो स्वर्णकाल भनेकै बाल्यकाल हो । मैले बाल्यकालमा भोगेका केही अनुभव र अहिलेका नानीबाबुहरुको भोगाइलाई मिसाएर चलचित्र बनाउँदा दर्शकलाई मन पर्छ भने किन नबनाउने भनेर मैले काम गरेँ । तर, बाल मनोविज्ञान बेचेकै हैन ।

४. सेटमा हिरोइनसँग गफ गर्न थालेपछि टेक लिनै बिर्सनुहुन्छ रे, हो ?
– यस्तो गम्भीर आरोप कसरी लगाउनुभयो ! यो त हुँदै होइन । अर्को कुरा, म आफ्नो काममा सधैं दत्तचित्त हुन्छु, सेटमा दृश्यको सन्दर्भमा बाहेक हिरो वा हिरोइनसँग गफ गर्ने फुर्सदै हुँदैन ।

५. अरुको चलचित्रका लागि कथा लेख्ने प्रस्ताव अस्वीकार गर्नु थाल्नुभयो, किन ?
– पहिलो कुरा त एक्लो प्रयासमा चलचित्र राम्रो बन्दैन भन्ने बुझेँ । मैलै आफैंले लेखेको कथा पनि निश्चल (बस्नेत) भाइ, पुरुषोत्तम प्रधान लगायतलाई पढ्न दिने गरेको छु । लेख्ने काम सामीप्य तिमल्सिना र मैले गरेको हो । कुनै बेला महिनामा दुई वटासम्म कथा लेखेँ, तर अहिले शरीरले पनि साथ दिँदैन । त्यसकारण पनि बाहिरको काम गर्न भ्याउदिनँ ।