काठमाडौंमा एमाले-राप्रपाः एकअर्कालाई भोटै माग्दैनन् !

२६ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल औपचारिकतामा मात्रै सीमित देखिएको छ ।

उम्मेदवारी दर्ताको अन्तिम समयमा दुई दलले तालमेलको सहमति गर्दै एमालेले मेयरमा र राप्रपाले उपमेयरमा उम्मेदवारी दिएका छन् । तर, उनीहरुको चुनाव प्रचार हेर्दा कहीँ पनि चुनावी तालेमल र सहकार्यको झलक आउँदैन ।एमाले र राप्रपाले अलग-अलगरुपमा चुनाव प्रचार-प्रचार तथा घरदैलो कार्यक्रम गरिरहेका छन् । उनीहरुबाट संयुक्त प्रचार कार्यक्रम भएको छैन । न एकअर्कालाई भोट मागेको नै देखिएको छ ।

एमालेको चुनाव प्रचारका क्रममा मेयर विद्यासुन्दर शाक्यको मात्रै नाम र तस्वीर राखिएको छ । त्यसपछि वडास्तरका उम्मेदवारहरुको नाम राखेर ब्यानरहरु बनाइएको छ, जहाँ राजाराम श्रेष्ठको नाम निसान छैन ।

घरदैलोमा पुगेका एमालेका कार्यकर्ताले उपमेयरमा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई भोट हाल्नुस् है भनेको पनि कमै सुन्न पाइन्छ ।

राप्रपाको चुनाव प्रचार पनि त्यस्तै छ । राप्रपाले उपमेयरमा राजाराम श्रेष्ठ भन्दै उनको नाम र तस्वीर भएको ब्यानरहरु बनाएको छ । त्यसमा कहीँ कतै मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई स्थान दिइएको छैन ।

राप्रपाले पनि आफैं दलका वडाध्यक्ष तथा सदस्यहरुका लागि भोट माग्ने गरिएको पाइएको छ ।

यद्यपि दुबै दल यसलाई स्वीकार गर्न तयार छैनन् । आफूहरुले मेयर र उपमेयरमा चुनावी तालमेल अनुसार एकअर्कालाई भोट मागेको जिकिर गर्छन् ।

टुप्पोमा मात्रै चुनावी तालमेल

उम्मेदवारी दर्ताको अन्तिम समयमा काठमाडौं महानगरमा प्रमुख दुई पदमा मात्रै चुनावी तालमेल गरेका एमाले र राप्रपाबीच उक्त स्थानीय तहमा संयुक्त प्यानल बनेको छैन ।

यदि संयुक्त प्यानल भएको भए संयुक्त कार्यक्रम गर्ने अवस्था आउँथ्यो । तर, प्रमुख दुई पदमा मात्र तालमेल गरेर अरु पदमा भने एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि तालमेल प्रभावकारी हुन सकेको छैन ।

यसका साथ मतपत्र पनि छापिइसकेको छ । एमालेले उम्मेदवारी नदिएपछि उपमेयरको कोलममा उसकै चुनाव चिहृन छ भने मेयरमा उम्मेदवारी नदिएपनि राप्रपाको चुनाव चिन्ह मेयरको कोलममा यथावत छ ।

यसले पनि मतदातालाई केही अफ्ठ्यारो हुने देखिन्छ । किनकि समान्य लेखपढ मात्रै भएका मतदाताले एकै लहरमा भोट हाल्ने सम्भावना हुन्छ ।

राजारामको दाबीः एमालेले मेरो प्रचार गर्दैछ

प्रचार आ-आफ्नो दलको मात्रै गरे पनि काठमाडौंको उपमेयरमा एमाले र राप्रपाका साझा उम्मेदवार बनेका छन् राजाराम श्रेष्ठ । उनी राप्रपाका केन्द्रीय सदस्य पनि हुन् । मिडियामा मेयरको चर्चा भइरहेका बेला श्रेष्ठ खासै चर्चामा छैनन् ।

राजा ज्ञानेन्द्रले ०६२ सालमा गराएको नगरपालिका चुनावमा श्रेष्ठले काठमाडौंको मेयरमा जितेका थिए, जसलाई एमाले लगायतका दलहरुले मान्यता दिएनन् । अहिले एमालेसँगै तालमेल गरेपछि उनी उपमेयरमा र्झन तयार भएका छन् ।

एमालेसँग संयुक्त प्रचार अभियान नचलेपछि श्रेष्ठलाई अहिले चुनावी धपेडीले गाँजेको छ । बिहान सात बजेपछि उनी जुलुस लिएर घरदैलोमा निस्कन्छन् । ‘पाँच दिनमा यसैगरी आधा काठमाडौं भ्याइसकेँ,’ उनले दाबी गरे ।

एमालेसँगको तालमेलको कारणले श्रेष्ठलाई सूर्य चिन्हको पनि प्रचार गरिदिनुपर्ने बाध्यता छ । श्रेष्ठलाई सोधियो, ‘एमालेलाई पनि भोट माग्दै हुनुहुन्छ कि आफूलाई मात्रै ?’
आफूले इमान्दारितापूर्वक मेयरमा एमालेलाई भोट मागिरहेको उनले दाबी गरे । श्रेष्ठले भने, ‘म विद्यासुन्दरजीको पनि फोटो भएको पर्चा बोकेर हिँडेको छु ।’

एमालेले आफ्नो लागि भोट मागेकोमा आफू सतप्रतिशत विश्वस्त रहेको उनले बताए ।

तर, श्रेष्ठले यसो भने पनि राप्रपाको जुलुसमा विद्यासुन्दरको तस्वीर कतै पनि देखिएन । न त एमालेका ब्यानरहरुमा नै राजारामको फोटो देख्न पाइयो ।

महानगरको सडकमा एमाले र राप्रपाका कार्यकर्ताको चुनावी अभियान हेर्दा राजधानीमा यी दुई दलवीच चुनावी सहकार्य भएको छ भनेर पत्याउने स्थिति देखिँदैन ।

नेयमार उत्कृष्ट खेलाडी : रोनाल्डिन्हो

४ मंसिर- ब्राजिलका पूर्व प्लेमेकर रोनाल्डिन्होले नेयमार विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले नेयमारको फर्म मेस्सी र क्रिष्टियानो रोनाल्डोभन्दा राम्रो भएको संकेत गरेका ...