नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ का चर्चित पात्र रक्षाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । ग्रामीण भेगकी युवतीको भूमिका निर्वाह गरिरहेकी रक्षा श्रेष्ठ काठमाडौँ, चाबहिलकी रैथाने बासिन्दा हुन् । आकर्षक अनुहार र मिलेको जीउडाल भएकी उनले ‘भद्रगोल’मा अभिनय गरेपटि एकाएक सेलिब्रेटी भईन् । उसो त त्यो भन्दा पहिला पनि उनले धेरै बिज्ञापनहरुमा काम गरिसकेकी थिईन् ।
अहिलेसम्म ४५ भन्दा धेरै कमर्सियल बिज्ञापनहरु र ३५ भन्दा बढि म्युजिक भिडियोहरुमा उनले अभिनय गरिसकेकी छिन् । तीनवटा फिल्महरुमा समेत काम गरिसकेकी उनी पछिल्लो समय भने ‘भद्रगोल’ मै ब्यस्त छिन् । उनले अभिनय गरेका तीनओटा चलचित्रहरु प्रदर्शनको तयारीमा रहेका छन् । ‘स्काउट’, ‘गाजाबाजा’ र ‘हैरान’ चलचित्रहरुमा अभिनय गरेकी उनको ‘स्काउट’मा लिड रोल छ भने बाँकी दुईमा अतिथी भुमिकामा देखिएको बताउँछिन् ।
जन्मदिनको बिशेष योजना के छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘म बिरामी भएर बेडरेस्ट गरिरहेकी छु त्यसकारण यसपाली बिशेष गरी नमनाए पनि घरपरिवारसँग नै बसेर जन्मदिन मनाउँदै छु ।’ तर बिरामीको बारेमा भने उनले खुलाउन चाहिनन् । देश तथा विदेशवाट फेसबुकमा शुभकामना आएपनि उनलाई पहिलो विस भने हाँस्यटेलिसिरियल ‘भद्रगोल’ कै कलाकार तथा सह–निर्देशक अर्जुन घिमिरे (पाँडे) ले गरेका थिए ।
आजसम्म कुनै पनि पछुताउने गल्ती नगरेको बताउने उनलाई आफ्नो एउटा बानी भने फिटिक्कै मन परेको रहेनछ । आजको जन्मदिनबाट उनले आफ्नो त्यो गल्तीलाई कम गर्दै लैजाने प्रण समेत हामीसँगको कुराकानीमा गरेकी छिन् । कुराकानीमा रक्षाले भनिन्, ‘म आफैँलाई मन नपर्ने र सुधार गर्नुपर्ने बानी भनेको मेरो रिस हो । मलाई एकदमै छिटो रिस उठ्छ । यो बानीलाई सुधार गर्न पहिलेदेखिनै कोसिस गरिरहेको छु तर सकिराखेकै छैन । अव यो पटकको जन्मदिनबाट भने त्यो कुरामा कन्ट्रोल गर्ने प्रयासमा लाग्नेछु । मलाई रिस उठेपछि मैले आफ्नो अगाडी भएका कुराहरुको वास्तै गर्दिन । यस्तो अवस्थामा मैले ४/५ वटा मोवाईल समेत फुटाईसकेँ ।’
उनको रिसाउने बानी छिट्टै हटोस् र उनले आँटेका कुराहरु पुरा हुन् भन्ने कामनासहित गज्जबको अनलाईनको तर्फबाट रक्षा श्रेष्ठलाई जन्मदिनको शुभकामना
