तीन दलको निर्णयः प्रदेश र संघको चुनाव मंसिर दोस्रो साता

प्रमुख तीन दल प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्ने सहमति जुटेको हो । ‘मंसिरको दोस्रो साताभित्र चुनाव गर्ने सहमति भएको छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘भोलि निर्वाचन आयोगसँग छलफल हुन्छ ।’

निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न कठिन भएको बताउँदै आएको छ । पछिल्ला छलफलहरुमा आयोगका पदाधिकारीहरुले विद्युतीय भोटिङ मेसिन प्रयोग वा प्रत्यक्ष मतलाई नै समानुपातिक मान्ने हो भने मात्र दुबै चुनाव एकैपटक गर्न सकिने बताएको छ ।

तर, दलहरु दुबै चुनाव एकैपटक गर्ने पक्षमा छन् । यसका लागि दुई वटा मतपत्र बनाउन सकिने दलहरुको तर्क छ । नेताहरुका अनुसार प्रत्यक्षतर्फ संघीय संसद र प्रदेशसभाका लागि एउटा मतपत्र बनाउन सकिनेछ, जसमा दुई ठाउँमा स्वस्तिक छाप लगाउने व्यवस्था गर्न सकिनेछ । समानुपातिकका लागि संघीय संसद र प्रदेशसभाका लागि एक ठाउँमा मत दिने व्यवस्था गर्न सकिनेछ ।

बिहीबार तीन दलका शीर्ष नेताहरुले निर्वाचन आयोगसँग छलफल गर्नेछन् र सम्भवतः मंसिर १०/११ मा चुनाव हुनेछ ।

संशोधनमाथि ४ गते भोटिङ

बालुवाटारमा बसेको तीन दलको बैठकमा संविधान संशोधन विधेयकलाई अघि बढाउने सहमति पनि जुटेको छ ।

सम्भवत ४ गते संसदमा भोटिङ हुनेछ । स्रोतले भन्यो, ‘आज भोलि नै गरौं भन्ने कुरा पनि आएको छ । तर, सम्भवतः ४ गते भोटिङ हुन्छ ।’

संविधान संशोधन विधेयकमा परेका संशोधनहरु निर्णयार्थ पेश भएपछि संशोधनको मुल विधेयकमाथि मतदान हुनेछ । संशोधन पास हुन दुई तिहाई बहुमत चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन ।

यद्यपि राष्ट्रिय जनता पार्टी संशोधन विधेयक पास-फेल जे भएपनि चुनावमा जान तयार देखिएको छ ।

बालुवाटार बैठकमा बाढी प्रभावितहरुको उद्दार तथा राहतलाई प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ । सबै एकजुट भएर राहत तथा उद्दारलाई तीव्रता दिन दलहरु सहमत भएका छन् ।

नेपाली बजारमा विस्तार हुँदै प्यारीवेयर

११ फागुन, काठमाडौं । बाथरुम सामग्रीहरुको बजारमा अग्रणी ब्रान्ड प्यारीवेयरले नेपालमा यसको बजार सबलीकरण गरेको छ । त्यसकालागि प्यारीवेयरले नेपालमा आफ्नो ब्रान्ड उपस्थिति बढाउँदै उत्पादनहरुलाई ...