प्रदेश नम्बर २ का उम्मेदवार मंगलबार सार्वजनिक कांग्रेसको निर्णय

११ भदौ, काठमाडौं प्रदेश २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ ।
चुनावी रणनीति तय गर्न ६ भदौदेखि ८ जिल्लाका हर्ताकर्ताहरुसँग सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसले छलफल गरिरहेको छ । जिल्ला सभापतिहरु, सांसद, क्षेत्रीय सभापतिहरु, उम्मेदवारका दाबेदारहरु समेत गरी हरेक जिल्लाबाट २० देखि २५ जना गरेर एक सय ६० भन्दा बढी नेता उक्त छलफलमा सहभागी छन् ।

केन्द्रीय कार्यालय सचिव प्रेम केसीका अनुसार बारा र पर्साबाहेकका ६ जिल्लामा उम्मेदवार तय गर्नेबारे छलफल सकिएको छ । बारा र पर्साको छलफल पनि टुंगिएपछि उम्मेदवारहरुको नामावली प्रकाशित गर्ने कांग्रेसको योजना छ ।
‘यस पटक जुन तहमा जसलाई उम्मेदवारका रुपमा अगाडि सार्दा चुनाव जितिन्छ, उसैलाई उठाउने तयारी छ,’ केन्द्रीय सदस्य एवं खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘कांग्रेसको पुरानो र निरन्तर क्रियाशील, लोकप्रिय, सम्बन्धित ठाउँको विकासका लागि काम गरिरहेको र पार्टीलाई योगदान दिएको व्यक्तिलाई टिकट दिने रणनीति बनाएका छौं ।’ उनका अनुसार तल्लो तहबाट सिफारिस भएर आएका व्यक्तिलाई नै टिकट दिँदा निर्वाचन जित्ने सम्भावना बढी हुने भएकाले त्यसैलाई मुख्य आधार बनाउने तयारी छ ।
दुई चरणका स्थानीय तह निर्वाचनमा दोस्रो दल बनेको कांग्रेसले प्रदेश २ को चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ ।
गृहजिल्ला धनुषा भएका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश २ मा सय सिटमा जित हात पारेर एमालेलाई उछिन्ने महत्वाकांक्षी योजना यसअघि नै सार्वजनिक गरेका छन् ।

झापाका १५ स्थानमा ओली अगाडि कि सिटौला ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहजिल्लाका रुपमा परिचित झापाको चुनावी राजनीतिलाई विशेष चासो र महत्वका साथ हेरिएको छ । ...