निर्वाचन कानुन बनाउने कुरा सुट किनेजस्तो सजिलो छैनः मन्त्री थापा

कानुन मन्त्री यज्ञबहादुर थापाले प्रदेश र प्रतिनिधि सभाको चुनाव कानुन अभावकै कारण नरोकिने बताएका छन् । कांग्रेस सांसदकै कारण संसदको राज्यव्यवस्था समितिबाट विधेयक अघि नबढेको गुनासो आइरहेका बेला कांग्रेस नेतासमेत रहेका मन्त्री थापाले सो कुरा बताएका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचनको लागि चाहिने ऐन तथा कानूनको अभावले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नरोकिने दाबी गरे ।

उनले भने, ‘निर्वाचनलाई चाहिने ऐन तथा कानुनहरु उपलब्ध गराउनकालागि केही ढिलासुस्ती अवश्य भएकै हो, तर निर्वाचन आयोग पूर्णरुपमा आश्वस्त रहोस् कि कानून अभावका कारण निर्वाचन कुनैपनि हालतमा रोकिँदैन ।’

निर्वाचन आयोगका पदाधिकारीहरुले छिटो कानुन उपलब्ध नगराइदिँदा चुनावको तयारी प्रभावित भएको बताउँदै आएका छन् । तर, उनले पसलमा गएर रेडिमेड कपडा किनेजस्तो सजिलो कानुन बनाउन नभएको टिप्पणी गरे ।

मन्त्री थापाले भने, ‘कानुन दिनेबारे अब कुनै शंका नगरौं, यो रेडिमेड कपडा पसलमा गएर सुट किनेजस्तो होइन, हामी कानुन अब चाँडै उपलब्ध गराउँछौं ।’

‘कांग्रेस एक्लै चुनाव लड्छ’

कांग्रेस नेतासमेत रहेका थापाले असोज २ गते हुने तेस्रो चरणको स्थानीय चुनावमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको बताए । यद्यपी छलफल जारी रहेकाले तालमेल पनि हुनसक्ने बताए ।

उनले भने, ‘कांग्रेस ठूलो र पुरानो पार्टी हो, खाइलाग्दो पार्टी हो, म त भन्छु कांग्रेसले एक्लै चुनाव लड्नुपर्छ, तर यदि आवश्यक पर्‍यो भने छलफल गरेर अन्य दलसँग पनि चुनावी तालमेल गर्न सकिन्छ ।’

त्यस्तै उनले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो कांग्रेस नै पहिलो बन्ने समेत दाबी गरे । ‘विगतमा कांग्रेसले गरेको गल्तीबाट पाठ सिकेको छ, अब हुने निर्वाचनमा हाम्रो पार्टी नै पहिलो हुन्छ,’ उनले भने ।

‘गाजलु’ मा सलोन : छोटो तर मिठो रोल

निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतले युवा स्टार अनमोल केसीसँगै फिल्म ‘होस्टेल’ बाट डेव्यु गरेका थिए । अनमोल चर्चाको उचाईमा पुग्दा सलोनले पनि फिल्ममा निभाएका ...