शेयर बजारमा ३५ अंकको पहिरो

काठमाडौं भदौ २५,शेयर बजारमा करिव ३५ अंकको पहिरो गएको छ । निरन्तर ओरालो लागेको बजार ३४.८९ अंकले घटेर १५२० अंकको बिन्दुमा आएको छ ।
बजार सूचक निरन्तर घट्न थालेपछि लगानीकर्ताहरुले आत्तिएर शेयर बेच्न खोज्दा कारोबार रकम केही बढेको छ। दिनभरीमा १५८ कम्पनीको ९२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कुल १५ लाख ५७ हजार ३८३ कित्ता शेयर किनबेच भएका छन् ।
बैंक तथा वित्तीय संस्थालगायतका कम्पनीहरुले लाभांश दर धमाधम घोषणा गर्न थालेपछि शेयर बजार झर्न थालेको थियो । आइतबार भने फराकिलो अन्तरले बजार झरेको हो । शेयर बजारमा धेरै ठुलो पहिरो जाँदा शेयर कारोबारका लागि ब्रोकर अफिसमा आएका अधिकांश लगानीकर्ता निरास देखिएका छन् । नजिकिँदो चाडमा बजार घट्दा लगानीकर्ता दोहोरो दबाबमा परेको लगानीकर्ताहरु बताउँछन् ।
बजारमा लगानीकर्ताले हकप्रदलाई बढी प्रथामिकता दिने गरेको र त्यो क्रम लगभग सकिएकाले दोस्रो बजारको आकर्षणमा गिरावट आएको एक ब्रोकरले बताए। पछिल्लो समय लाभांश घोषणा गरेका कम्पनीको शेयर बेच्ने लगानीकर्ता बढी देखिने गरेको उनले जानकारी दिए।

खासगरी बीमा २९६.७१ अंक र अन्य वित्तीय क्षेत्रका सूचक झर्दा बजारमा पहिरो गएको हो । बैंकिङ सूचक २८.६६ अंक, विकास बैंक ४९.६ अंक र फाइनान्स १३ अंक झरेको छ। होटल समूहमा पनि ५१ अंकभन्दा बढीले पहिरो गएको छ। उत्पादनमूलक २४ र अन्य करिव ३ अंकले झरेका छन् ।

बजार झरेपनि १२ कम्पनीको शेयर मूल्य भने बढेको छ। समता, निर्धनजस्ता संस्थाको शेयर मूल्य बढेको हो। १० प्रतिशतले छिमेक लघुवित्तको शेयर मूल्य झरेको छ। जेनरल फाइनान्सको ८ प्रतिशत र हाम्रो विकास बैंकको करिव ८ प्रतिशतले शेयर मूल्य झरेको छ ।

एक-दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार हुन्छः प्रधानमन्त्री प्रचण्ड

२६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । माओवादीको मन्त्रीहरु छनौट भइसकेको भन्दै उनले कांग्रेससँग छलफल गरेर ...