गोरखामा भट्टराई र श्रेष्ठको हेभिवेट भिडन्त

काठमाडौं कात्तिक २७, आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रचार–प्रसारमा ब्यापक रुपले लागि परेका छन् । नेपाली कांग्रेसको साथ पाएका भट्टराई यतिखेर चुनावी अभियानमा दिनरात नभनी खटिएका छन् । उनको अभियानमा नेपाली कांग्रेसका स्थानीय तथा राष्ट्रियस्तरका नेताहरुले पनि काँधमा काँध मिलाइरहेका छन् ।

भट्टराईलाई टक्कर दिँदै सोही क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ पनि उठेका छन् । श्रेष्ठ पनि एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरु लिएर चुनावी प्रचारमा लागि परेका छन् । कुनै समय यी दुबै नेता तत्कालिन नेकपा माओवादी पार्टीमा थिए । एकै जिल्लाका यी दुबै नेता पार्टीमा उपाध्यक्ष रहेको भए पनि एक अर्कालाई कहिल्यै स्विकार गरेनन् । एक–अर्काका प्रतिस्पर्धी यी दुबै नेताहरुले निर्वाचनको प्रचार–प्रसारको क्रममा त झनै एक–अर्काको खेदो खन्ने गरेका छन् । सोही कारणले गर्दा यी नेताहरुको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।

स्थानिय चुनावको मतपरिणमलाई आधारमान्ने हो भने वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ केही मतले अगाडी रहेका छन् । तर, बाबुराम भट्टराईको गोरखासँग खास सम्बन्ध रहेको कारणले गर्दा उनको पक्षमा थप भोट आउनसक्ने सम्भावना छ ।

चुनाव प्रचार प्रसारमा एक उम्मेदवारले अर्कोलाई गाली गर्ने क्रम पनि चलिरहेको छ । भट्टराई र श्रेष्ठको क्षेत्रमा सुरक्षा चुनौति रहेको भन्दै थप सुरक्षकर्मी पनि खटिएका छन् ।