रसुवाका कृषकलाई मिनिटिलर वितरण

 

रसुवाको उत्तरगया गाउँपालिकाका कृषकलाई मिनिटिलर अर्थात हाते टयाक्टर वितरण गरिएको छ । खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते टयाक्टर वितरण गरेको हो ।

गाउँपालिकाको कृषि सहकारी र कृषक समुहमा आवद्ध १२ जना कृषकलाई सामग्री वितरण गरिएको शाखाले जनाएको छ । गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै हाते टयाक्टर वितरण गरिएको कृषि शाखा प्रमुख गौरीशंकर रोकायाले बताए ।  ‘यस क्षेत्रमा गराहरु सानोे भएकाले हाते टयाक्टर वितरण गरिएको हो, उनले भने, यसले कृषकलाई खेतीपाती लगाउन सहज हुन्छ ।

प्रति हाते ट्याक्टर ५८ हजारमा खरिद गरिएको हो । ट्याक्टर खरिदका लागि गाउँपालिकाले ४३ हजार पाँच सय खर्च गरेको छ । अनुदानमा वितरण गर्दा कृषकलाई प्रति ट्याक्टर १४ हजार पाँच सय परेको छ ।

कृषकको माग र आवश्यकताको आधारमा सामग्री खरिद गरेर वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले बताइन् । आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले  कृषकहरु प्रविधि तर्फ आकर्षित हुन थालेका छन् ।

जिल्लाको पाँच वटा गाउँपालिका स्थापना भएको शाखामध्ये उत्तरगया र नौकुण्ड गाउँपालिकाले कृषकलाई प्रविधि सहयोग गरिरहेको छ । उत्पादन बढाउनका लागि प्रविधि अति आवश्यक भएको नौकुण्ड गाउँपालिकाको कृषि शाखा प्रमुख सम्भु प्रसाद राईले बताए ।

यसअघि जिल्ला कृषि विकास कार्यालयबाट सेवा पुग्न नसकेका स्थानमा कृषि शाखाले सेवा पु¥याउन थालेपछि ग्रामिण भेगका कृषक खुशी भएका छन् । कृषि शाखाले प्रविधि सहयोग, विउ वितरण गर्नुका साथै आवश्यक तालिम दिएपछि कृषिमा युवाहरुको सहभागिता बढेको नौकुण्ड गाउँपालिका–६ का होम बहादुर लामाले बताए ।